सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो गौरा। गौरा पर्व विशेष गरेर डोटी राज्य र कुमाउँ गढवाल राज्यमा परापूर्वकालदेखि नै मनाउँदै आइएको पर्व हो।
गौरा पर्व भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्। गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।
बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपमार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा झोडो, फाग, देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ। सुदूर पश्चिमेलीहरूले धुमधामका साथ मनाउने गौरा पर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ। गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ। यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ। साथै यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ।
प्राचीन कथा
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किम्वदन्ति रहिआएको छ।
यो पर्वमा झोडो, फाग (गौरी देवीको गाथा) देउडा र धमारी गाउने र खेल्ने गरिन्छ। गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ।
पञ्चमीदेखि सुरु भएको गौरा पर्व अष्टमीको दिन झनै विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिन नै मुख्य हो। यसै दिनलाई नेपालमा गौरा पर्वको रुपमा लिने गरिन्छ। गौरा पर्वलाई पञ्चमीदेखि अष्टमीसम्म चार दिन मनाउने गरिएको छ। गौरा पर्व विशेष गरेर महिलाले मनाउने पर्व हो। तर, आजभोलि पुरुषहरुको पनि उत्तिकै सहभागीता पाइन्छ। यो पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्ने गरिन्छ। गौरा पर्वमा गौरा–महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने गरेको आस्था रहिआएको छ।
मनाउने तरिका
गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने पञ्च अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ। महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन पानीको मुहान र पँधेरामा शुभ मुहुर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन्। अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ। सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ।
पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन बिरुडा (गहुँ, गहत, गुराँस, सानो केराउ, मास) भिजाउने चलन छ। बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ। बिरुडा भिजाएर सुरु हुने पर्वको दोस्रो अर्थात् षष्ठीका दिन गेडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ। सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपमार्ग गरी नौ प्रकारका बिरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ। आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण यी बिरुवालाई नवदूर्गाको प्रतीकको रुपमा लिने गरिएको छ। यसैलाई गौरा भन्ने गरिन्छ।
व्रतालु महिलाले डालोमा राखेर झोडो, फाग गीत गाउँदै गौरालाई नचाउने चलन छ। उनीहरुले सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याई पूजापाठ गर्ने गर्दछन्। विधि विधानअनुसार अष्टमीका दिन गौरा सेलाएर देउडा खेल्ने चलन छ। गौरा चार दिनसम्म मनाइए पनि रमाउनका लागि केहि दिन लम्ब्याएर पनि देउडा खेल्ने गरिन्छ।
गौरालाई महिलाहरुले गौरी–महादेवको विवाहोत्सवको रुपमा पनि मान्ने गरेको जानकारहरुको धारणा छ। गौरा सेलाएको अष्टमीको दिनदेखि समुदायमा देउडा खेल्ने चलन रहेकाले यो पर्वको सामाजिक महत्व पनि उत्तिकै रहेको छ। यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ। कुनै भेदभाव बिना नै यस क्षेत्रका बासिन्दाहरु देउडा खेल्दै रमाउने गरेका छन्।
महिला र पुरुषको छुट्टाछुट्टै गोलो घेरा बनाएर देउडा खेलिन्छ। देउडामा फाग, चैत, धमारी गाउने चलन रहे पनि अचेल समसामायिक विषयवस्तुमा आधारित व्यंग्यात्मक गीत गाएर रमाइलो गर्ने चलन पनि छ। युवा पुस्ताले माया प्रेममा आधारित गीत गाएर पनि देउडा खेल्ने गर्दछन्।
(इतिहासकार, विभिन्न डोटेली आलेख र पुस्तकहरुबाट तयार पारिएको)