शनिबार, पुस ५, २०८२

नेपालगञ्जका चोकचोकमा जुम्लाको स्याउ

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

नेपालगञ्ज- जुम्लामा उत्पादन भएको स्याउ नेपालगञ्जका चोकचोकमा पाइन थालेको छ। जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो एकसय ६० रूपैयाँमा खरिद गर्न पाइने स्थानीय बताउँछन्। 

National life

कोहलपुर नगरपालिका-१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा २० रूपैयाँ नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको जानकारी दिइन्। उनले भनिन्, 'जुम्लाबाट आएको स्याउ ताजा, रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको छ।'

एकै पटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउँछ र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको कार्कीले बताइन्। कोहलपुरबाट किनेर ल्याइ नेपालगञ्जमा बिक्री गर्ने गरेको उनको भनाइ छ। 'जुम्लाबाट आउने स्याउ अर्गानिक र रसिलो भएकाले धेरैले यो स्याउ मन पराउँछन्', उनी भन्छिन्।

नेपालगञ्जका स्थानीय ठेला व्यापारी रामदास कोइरीले स्थानीय तरकारी मण्डीबाट जुम्लाको स्याउ खरिद गरी बिक्री गरिरहेको बताए। उनका अनुसार भारतको सिमलालगायत क्षेत्रबाट नेपालगञ्जमा स्याउ ल्याएर बिक्री गरिन्छ।

जुम्लाको स्याउभन्दा भारतबाट ल्याएको स्याउ हेर्दा आकर्षक हुने भएकाले त्यसको मूल्य बढी हुने गरेको कोइरीको भनाइ छ।

Laxmi sunrise bank
kumari

जुम्लाको स्याउको मूल्य प्रतिकेजी एक सय ६० रूपैयाँ छ भने भारतबाट आयात गरिएको स्याउ दुई सयदेखि दुईसय ५० रूपैयाँसम्म रहेको छ। जुम्लाबाट दैनिक चार ट्रक स्याउ आउने गरेको थोक व्यापारीहरु बताउँछन्। जुम्लाबाट एकै जातको स्याउलाई तीन वर्गमा विभाजन गरी नेपालगञ्ज ल्याउने गरिएको छ।

नेपालगञ्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्‍याउने गरिएको छ। जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ। कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगञ्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारी बताउँछन्। रासस

प्रकाशित: Aug 25, 2024| 18:01 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्