बिहीबार, भदौ ४, २०८३

एक वर्षमा सात चितुवा मृत भेटिए पर्वतमा

 |  शुक्रबार, भदौ ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ७, २०८१

पर्वत- जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन्।

कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिए। गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका– २ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका– ८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका– ५ बाजुङमा दुईवटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो।
    
गत वैशाख १८ मा कुश्मा– ९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा– २ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ। वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त वासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको संख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताए। 

मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले बताए। 

चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय वासस्थानमा नफर्कंदा बच्चाहरू भोकले मरेको हुन सक्ने सापकोटाको भनाइ छ। आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उनले पहाडी वनमा त्यति धेरै घाँसेमैदान नहुने, हरिण, मृगलगायत जनावरको संख्या कमी हुँदै जाँदा खाद्यसंकट परेको हुन सक्ने उनले बताए।

प्रकाशित: Aug 23, 2024| 06:31 शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्