शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • तिपेनी बजार र इन्द्रावती तटका बासिन्दा सुक्खा पहिरोको त्रासमा

तिपेनी बजार र इन्द्रावती तटका बासिन्दा सुक्खा पहिरोको त्रासमा

 |  बिहीबार, भदौ ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

चौतारा- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ बाँसखर्कबाट अप्रत्याशित रुपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनी  बजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन्। 

National life

सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रासले इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा निदाउन सकेका छैनन्।

बाँसखर्कको तल्लो भागबाट झर्न थालेको पहिरो अहिलेसम्म नरोकिएपछि इन्द्रावती नदी थुनिने हो कि भन्ने चिन्ताले रातभर निदाउन नसकेको तिपेनी बजारका स्थानीय युवराज गिरी बताउँछन्। यदि आकस्मिक रुपमा ठूलो पहिरो झरेमा इन्द्रावती नदी थुनिँदा यसले ठूलो क्षति पुर्‍याउने उनी भन्छन्।

पहिरोबाट पाँचपोखरीको तिपेनीमा रहेको प्राथमिक अस्पतालसहित, बजार र आसपासका केही संरचना सबैभन्दा बढी जोखिममा परेको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी बताउँछन्। नदीको छेउमा माथिबाट खसेको पहिरोले थुपारेको गेग्रानले नदी नथुनियोस् भनेर अहिले हटाउने काम भइरहेको उउनी बताउँछन्।

गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार पहिरो क्षेत्रमा ३५ जनाको सेनाको समूहसहित प्रहरीको विपद् टोली तैनाथ रहेको छ। इन्द्रावती नदीले  तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ।

Shivam cement

नदीले निरन्तर गेग्रान बगाइरहँदा चर्किएको माथिल्लो भाग खस्ने सम्भावना छ। यदि डाँडाको माथिल्लो भाग खस्यो भने नदी थुनिन सक्छ र यसले ठूलो क्षति पुर्‍याउने भन्दै स्थानीय त्रसित छन्। वर्षाको समय भएकाले अहिले पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय खोज्न नसकिने लामा बताउँछन्।

पहिरोका कारण बाँसखर्कको तल्लो क्षेत्रमा धाँजा फाटेका र चिरा परेका भाग पनि एकै पटक नदीमा खस्ने सम्भावना देखिएको स्थानीय गमला गिरी बताउँछिन्। त्यसैले नदी जुनसुकै बेला थुनिनसक्ने जोखिम रहेकाले वर्षा र पहिरो खस्न नरोकिएसम्म यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। रासस

प्रकाशित: Aug 22, 2024| 20:31 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्