काठमाडौं- शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाको व्यवस्था प्रबन्ध गर्न गृहमन्त्रीसँग माग गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिइएको बताउँदै मन्त्री भट्टराईले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न माग गरेकी हुन्।
‘सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु,’ सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मन्त्री भट्टराईले उल्लेख गरेकी छन्।
त्रिविमा पछिल्लो समय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद छ। विभागले कार्यविधि अनुसार वरिष्ठताको आधारमा सिफारिस गरेको नामावलीलाई मानविकी तथा सामाजिक शास्त्र डीन कार्यालयले उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सहप्राध्यापक टिका गौतमलाई सिफारिस गरेपछि विवाद भएको हो।
गत ३२ साउनमा तत्कालीन विभाग प्रमुख प्रा.डा.युवराज लुईंटेलको पदावधि सकिनुअघि विभागले पासाङ शेर्पा, टिका गौतम र मनहरी ढकालको नाम सिफारिस गरेको थियो । तर, डीन प्रा.डा.कुसुम शाक्यले विधि मिच्दै कांग्रेस निकट गौतमलाई सिफारिस गरेको आरोप लाग्दै आएको छ। डीन शाक्य अहिले निमित्त डीनको रुपमा छिन् ।
डीनलाई रेक्टर कार्यालयले दोस्रो नम्बरमा रहेका सहप्राध्यापकको नाम पहिलो नम्बरमा पठाएपछि स्पष्टीकरण सोधेको छ । तर, डीन कार्यालयबाट जवाफ आएको छैन ।
डीन कार्यालयबाट आएको नामावली अनुसार नियुक्ति गर्न दबाब तथा धम्की आइरहेको भन्दै पदाधिकारीले गत शुक्रबार शिक्षा मन्त्रालयमा आवश्यक सुरक्षाको व्यवस्था गरिदिन अनुरोध गर्दै पत्र पठाएका थिए । उक्त पत्र गृह मन्त्रालयमा फरवार्ड गर्ने भनिए पनि शिक्षा मन्त्रालयमै थन्किएको थियो ।
यही क्रममा असुरक्षा भएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार बिदामा बसेका छन्।
आफूले असुरक्षाको विषयमा संसद्मा कुरा उठाएको र प्रधानमन्त्री, गृहमन्त्री लगायतसँग लगातार समन्वय पनि गरेको मन्त्री भट्टराईले बताएकी छन्। त्यतिले मात्र नपुग्ने देखेपछि सार्वजनिक बहस होस् भनेर सुरक्षाको अपिल गरेको उनको उनको भनाइ छ।