भारतका प्रख्यात सन्त तथा जूना अखडाका महामण्डलेश्वर पाइलट बाबाको निधन भएको छ। उनको निधन ८६ वर्षको उमेरमा नयाँ दिल्लीको अपोलो अस्पतालमा भएको एबीपी न्युजले जनाएको छ।
उनको समाधि हरिद्वारमा हुने बताइएको छ। उनी भारतीय वायुसेनामा विङ कमान्डर थिए। त्यसैले उनी पाइलट बाबाको नामले चिनिएका हुन्। पाकिस्तानसँग भएका दुईवटा युद्धमा उनले फाइटर पाइलटको भूमिका निभाएका थिए। त्यसपछि उनले सैनिक सेवा छोडेर सन्यास लिएका हुन्।
पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ।
पाइलट बाबा भारत बिहार राज्यको सासाराम भन्ने स्थानमा सन् १९३८ मा जन्मिएका थिए। उनको वास्तविक नाम कपिल सिंह हो। उनी सन् १९५७ मा सैनिक सेवामा प्रवेश गरेका थिए।
उनले सन् १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन र पाकिस्तानसँगको युद्धमा भाग लिएका थिए। उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए।
पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन्। आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए।
नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन्। भारतको प्रयागमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेका थिए।