तीन दशकदेखि कोहलपुरमा बसेर साहित्यिक कर्ममा लागेका सागर गैरेले २०७७ अघि मोफसलका पत्रपत्रिकामा साहित्यिक, सामाजिक, आर्थिक, विकास र वातावरणसम्बन्धी लेखरचना प्रकाशन गर्दै आएका थिए। महामारीका रूपमा संसारभरि फैलिएको कोरोना संक्रमण चीन, भारत तथा पश्चिमा देश हुँदै नेपालमा पनि फैलियो। यसले सम्पूर्ण नेपालीको जनजीवन निकै प्रभावित भयो। जनधनको ठूलो क्षति भयो। कोहलपुरमा पनि लकडाउन र महामारीको समयमा जनजीवन अतव्यस्त भयो। लकडाउनको मनोविज्ञान, भोगाइ, यसले समाजमा पारेको सामाजिक, आर्थिक,मनोवैज्ञानिक प्रभावबारे लेखकले ʻलकडाउन’ संस्मरण प्रकाशित गरे।
छ वर्षको उमेरमा पाल्पाको गरनडाँडाबाट बर्दियाको ककौरामा बाआमा बसाइँ सर्नुभयो। त्यसबेला अहिलेजस्तो नेपालमा हाट बजार थिएनन्। दैनिक उपभोग्य वस्तु खरिदबिक्री गर्ने बजार भारतीय सीमावर्ती बजार थिए। उनी आमासँग पछि लागेर भारतीय बजार बलेगाउँ पुगे। बजारको अनुभव लिए। ककौराबाट दस कक्षा पास गरे। उच्च शिक्षाका लागि कोहलपुर आए। पढ्दै, व्यापार सिक्दै गर्दागर्दै उनी व्यावसायिक कर्ममा लागे। व्यापार व्यवसायमा उनी सफल हुँदै गए। विदेश यात्राका अनुभव पनि बटुल्दै गए। अजरबैजानको राजधानी बाकुसम्म पुगेर फर्केपछि उनले ‘बलेगाउँदेखि बाकुसम्म’ नियात्रा प्रकाशन गरेका हुन्। गैरेको लेखन यात्रा त्यतिमै रोकिएन। आफ्नै बाको जीवनका भोगाइलाई समेटेर तेस्रो कृति ‘मोहोर’ गत जेठमा प्रकाशन गरेका छन्। फरक स्वाद र शैलीमा लेखिएको यो कृति लेखकको पहिलो उपन्यास हो।
उपन्यासमा चौरासी वर्ष पार गरिसक्नुभएका आफ्ना बाको जीवन र कर्मका अनेकौं चित्र उतारिएको छ। सामाजिक संघर्ष, पारिवारिक संघर्षका क्रममा एउटा आम मान्छेले भोगाइजस्तै बाले भोगेका पीडा, अभाव र त्यसबाट प्राप्त गरेका तीता–मीठा अनुभूति समेटिएको छ। बाले छोरा नातिलाई सुनाउनुभएका कथा गैरे परिवारका लागि मात्र होइन आमपाठकका लागि पनि उत्तिकै सान्दर्भिक छन्।
पुस्तकमा राणाकाल, सात सालको क्रान्ति र सहीदहरू, राजतन्त्र, बहुदल, माओवादी जनयुद्ध, गणतन्त्रसम्मका नेपालले अँगालेको शासन व्यवस्थामा आममान्छेका बुझाइ र भोगाइ तथा सामाजिक –आर्थिक प्रभाव नै उपन्यासको अन्तर्वस्तु बनाइएको छ।
व्यक्ति, समाजको प्रगति र विकासमा उत्पादन शक्ति (श्रम,पुँजी प्रविधि र औजार) को प्रयोगले प्रमुख भूमिका खेलेको हुन्छ। उत्पादन प्रणालीले उत्पादन सम्बन्धको निर्धारण गर्छ। सरल प्रविधिबाट आधुनिक प्रविधिको प्रयोग हुँदै जाँदा आममानिसका जीवन पद्धति पनि बदलिँदै जान्छन्। उपन्यासका प्रमुख पात्र बाको आठ दशक पार गरिसक्दाको जीवन र पाल्पाको गरनडाँडाबाट वर्दियाको ककौरामा बसाइँ सर्नुको पछाडि यही सार्वभौम नियमले काम गरेको छ।
दाह्री फाल्ने मसिन पनि नदेखेका, छुराले कपाल दाह्री गर्नुपर्ने, सजिवनले दाँत माझ्नुपर्ने, ढिकी, जाँतो र घट्टको समयमा बाँचेका घनश्याम गैरे ककौरा आउँदा रेलमा आउनुभयो। लडियाले उहाँको जीवन सहज बनायो। गाउँमा खुलेका आधुनिक मिलले अर्मपर्मका पुरानो उत्पादन सम्बन्ध तोड्यो। त्यसको ठाउँमा जमिन्दारी व्यवस्था, खेती मजदुरबाट काम गराउने नयाँ परिवेश सिर्जना भयो। लडियापछि आएको ट्याक्टरले खेतीपातीमा सहजता ल्याइदियो। र, छोराहरूलाई व्यावसायिक कर्ममा जोडेपछि उहाँले बोइङ चढेर मलेसियाको राजधानी क्वालालाम्पुर पुगेर पूँजीवादको चरम विकासलाई आफ्नै आँखाले देख्न पाउनुभयो। समयको गतिसँगै राणा, राजा र बहुदल तथा गणतन्त्रका चारवटा शासन पद्धति आफ्नै आँखाले देख्नुभयो। भोग्नुभयो। परिवारलाई सक्षम र सुखी बनाउन अनेक संघर्ष गरेका अग्रजका प्रगतिका सिँढीहरू सिधा छैनन् बरु बक्राकार र बाङ्गाटिङ्गा छन् भन्ने कुरा नयाँ पुस्तालाई खबरदारी गरेको छ।
मोहोरले मानिस किन एक ठाउँमा अर्को ठाउँमा बसाइँ सर्छ। उसको चरित्र किन अस्थिर हुन्छ। आफ्ना थातथला, नातागोता, कुटुम्ब किन छोड्न तयार हुन्छ। देश विदेश किन गर्छ भन्नेबारे दार्शनिक पाटोलाई चिरफार गरेको छ। दर्शन शास्त्र भन्छ–आवश्यकता र स्वतन्त्रता एक अर्कोमा अभिन्न रूपमा गाँसिएका विषय हुन्। एक अर्कोमा रुपान्तरण हुँदै व्यक्ति, समाज र सभ्यताको विकास अग्रगामी बाटोमा अगाडि बढ्छ। आवश्यकता महसुस गरेपछि त्यसको पूर्ति गर्न मानिसले संघर्ष गर्छ। संघर्षबाट आवश्यकता पूरा हुन्छ। स्वतन्त्रता प्राप्त गर्छ।
मानिस त्यतिमै चुप लागेर बस्दैन। स्वतन्त्रताले अर्को आवश्यकताको माग गर्दछ। एउटा क्षितिजमा पुगेपछि अर्को क्षितिज खुल्दै जान्छ। सम्भावनाका नयाँ नयाँ ढोका खुल्दै जान्छन्। घनश्याम गैरे बाका पनि गरनडाँडाले आवश्यकता पूरा गर्न सकेन। त्यसपछि बसाइँ सर्नुको विकल्प रहेन। उहाँको आवश्यकता छोराछोरीको शिक्षा, स्वास्थ्यको थियो। सहज जीवनको थियो। ककौरा आएपछि ति कुरा प्राप्त भए। उहाँले एकखालको स्वतन्त्रता पाउनुभयो। तर, फेरि उहाँलाई अर्को आवश्यकताको महसुस भयो। आर्थिक स्वतन्त्रताका लागि ब्यापार गर्नुपर्छ भन्ने उहाँलाई बोध भयो। भान्जी ज्वाइँहरुको ब्यापार थियो। ब्यापार सिक्न उहाँले जेठा छोरालाई भान्जीको पसलमा पठाउनुभयो। छोराहरूको आवश्यकता ककौराको खेती किसानीले पूरा गर्ने अवस्था थिएन। उहाँहरू ब्यापारमा लाग्नुभयो। बाले ब्यापारका लागि वातावरण तयार पार्नुभयो। ब्यापारले आर्थिक उन्नतिका ढोका खोल्यो। उहाँ विदेश यात्रा गर्न सक्षम हुनुभयो।
बर्दियामा आउँदा नयाँ परिवेश थियो। सामाजिक मूल्यमान्यता फरक थिए। थारु समाज थियो। त्यहाँ सामाजिक अन्तरघुलनको समस्या थियो। बसाइँ आएका पहाडीहरू त थिए तर अर्मपर्म र दैनिक काम काजमा थारु समुदायको सरसहयोग बिना चल्दैनथ्यो। गरनडाँडामा तीनपुस्ते बन्धुबान्धव थिए। नातागोताको सञ्जाल थियो। बाउबाजेको नाम बेचेर पनि साना तिना समस्याका गाँठा फुकाउन सजिलो थियो। बसाइँपछि घर थिएन, गोठ थिएन। गाँसको समस्या हल भए पनि बासको बन्दोबस्ती थिएन। जीवन लिकबाहिर गुड्ने जोखिम थियो।
त्यस्तोमा सामाजिक इनर्सियाले मानिसलाई पूर्वस्मृतिमा डोर्याउँछ पुरानै संरचनामा फर्किन पाए बरु जीवन सहज हुने पश्चगामी विचारले उसलाई त्वरित बनाउँछ। बालाई पनि त्यस्तै भयो। ‘ककौरा आएपछि हाम्रो पहिलो बास भान्जीको ससुराको गोठमा भयो। गोठको आधा भागमा गाईभैंसी थिए। आधा भाग बेरबार पारेर हामी बस्न थाल्यौँ। गोठसँगै फिरु थारुको छाप्रो थियो। गोठमा फिरुले सुँगुर बाँध्थे। ..यस्तोमा पहाडको घरको धेरै सम्झना आउँथ्यो।’ बा अगाडि भन्नुहुन्छ, “ पहाडमा हजुरबाका पालामा बाटुले घर थियो। मेरो पालामा ढुङ्गेघर बनाएको थिएँ। सबैकुरा व्यवस्थित थियो। तर यहाँ आएपछि गोठ बारेर बस्न थालेका थियौँ। रुका बेला बेला पहाडको घर सम्झेर दुःखी हुन्थिन्।” बसाइँ सर्ने सम्पूर्ण मानिसका मनोभावना मोहोरले बोकेको छ।
सामाजिक अन्तरर्घुलन कति कठिन छ भन्ने कुराको केही अंश मोहोरको यो कथनबाट बुझ्न सकिन्छ। मोहोरमा बा भन्नुहुन्छ , “भान्जीकै प्रेरणाले बसाइँ सरकेको म भान्जीले मामा भनी सबैलाई चिनाएपछि सबैका गैरे मामा भएँ।”, “बसाइँ सर्नु भनेको गाउँ छोड्नु, घर छोड्नु, इष्टमित्र छोड्नु, छिमेकी छोड्नु मात्र होइन रहेछ। आफ्नो पहिचान पनि छोड्नु रहेछ। आफ्नो नाम पनि छोड्नु रहेछ।” बाको यो अनुभूति बसाइँ सर्ने सबैको अनुभूति हो। ककौराम थारु समुदायसँग घुलमिल हुन फिरु थारुले धेरै सहयोग गरे। थारु समुदायसँग सामाजीकीकरण र अन्तरघुलनका लागि कतिपय पहाडीले थारुहरूसँग मित लगाउने गरेको फिरुले बालाई बताए। फिरु भन्छन्, “साइनो निभाउने मामलामा थारु पक्का हुन्छन्। ” पछि बालाई महसुस भयो , ‘ककौरामा सबथोक रै’छ। मात्र पहाडमा पाइने पहाड रहेनछ।’ पुस्तकमा लेखक गैरेले थारु समुदायको इमान्दार र सरल स्वभावको बारेमा प्रष्ट पारेका छन्। इमान जमानका पक्का भएकाले नै होला तराई मधेशका अन्य समुदायसँग भन्दा थारु समुदायसँग पहाडी समुदायको बसाइ सहज छ। तुलनात्मक रूपमा जातीय वैमनश्यता कम छ।
बा गरनडाँडामा जन्मिएर सर्वसाधारण आममानिसको जीवनशैली बाँच्नुभयो। त्यतिबेलाको समाज पछौटे थियो। दैवी शक्तिमा विश्वास थियो। सन्तानका लागि सप्ताह लगाउनु, देवीदेवता भाकल गर्नु वरदान माग्नु र धार्मिक आस्थामा पूर्ण विश्वास राख्नु र शुभकार्यका तथाकर्ममा ज्योतिषको भर पर्नु त्यसबेलाको सामाजिक चेतनाको उपज थियो। आस्था, विश्वास, तात्कालीन समाजका प्रतिबिम्ब हुन्। जुन समाजमा शिक्षाको ज्योति पुगेको हुँदैन। ज्ञान विज्ञानको चेतना पुगेको हुँदैन त्यो समाज धार्मिक भीरु हुने नै भयो। मोहरमा पुरानो पुस्ताका आश्था र विश्वासलाई सम्मान गरिएको छ। बाको चौरासी पूजा, श्राद्ध, तोरे ज्योतिष, शतबिज बोकेर काठमाडौं, सप्ताह, पुराण भाकल, दैवको खेल, दार्चुला देवीको दर्शन आदि शीर्षकमा यी विषय समेटिएका छन्। सांस्कृतिक पक्षलाई पनि उत्तिकै महत्व दिइएको छ।
दुई वर्षको उमेरमा बा आमा गुमाउनुभएका बा हजुरबासँग हुर्केको, हजुरबाको मृत्युपछि बेसहारा भएको, कान्छी आमासँग बसेको, बिबाह गरेकी पहिलो श्रीमतीको असामयिक निधन, दोस्रो बिबाहलाई दैवको खेलका रूपमा लिएको र समग्र घटनाक्रमलाई ‘जहाँ पातलो, त्यही प्वाल’ भनेजस्तै जीवनको पूर्वार्धमा निकै मानसिक पीडा भोगेको र उत्तरार्धमा आइपुग्दा भने आफूले देखेको सपना पूरा गरेको पुस्तकमा उल्लेख छ। ‘सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु’ बाको भनाइ वास्तवमा सबैको जीवन भोगाइको सार हो।
मोहोर समग्रमा सामाजिक उपन्यास हो। पुस्तक पढ्दै जाँदा पुस्तकभित्रका कथा उपकथा आफ्नै परिवारको कथाझैँ लाग्छन्। मोहोरलार्ई आफ्नै अग्रजहरूको जीवनीसँग तुलना गर्दै पढ्दा अझै रोचक लाग्छ। मेरा बा पनि दुई वर्षमा टुहुरो बन्नुभएको थियो। २६ वर्षसम्म निरक्षर बा त्यसपछि भने शिक्षित हुनुभयो। २००८ सालमा शारदा प्राथमिक विद्यालय खोलेर गाउँमा शिक्षाको ज्योति फैलाउनुभयो। तर, लेखक गैरेका बाले त्यो अवसर पाउनुभएन। मुखियाको नाती भएता पनि शिक्षाको ज्योतिबाट वञ्चित हुनुभयो। तर, आफ्ना छोरा छोरीलाई पढाउन बसाइँ सर्नुभयो। मोहोर बाहरूको संघर्षको कथा हो। गण्डकी र लुम्बिनी प्रदेशको समाजिक, सांस्कृतिक परिवेशको आँखीझ्याल हो।
लेखक गैरेले पुस्तकमा धेरै ऐतिहासिक कुरा बाका श्रुतिका आधारमा पुस्तकमा समेटेका छन्। पुस्तकमा कतिपय प्रसंगहरू बाका चेतनाभन्दा धेरै टाढाका जस्तो लाग्छ। देखेको दरबार सुनेको इतिहास पढ्दा यस कुराको अनुभूति हुन्छ। पुलको कथामा बृद्धभत्ताको पैसाले उहाँले पक्की पुल बनाएर धर्म कमाउने इच्छा घाँसीको कुवा खनाउने जस्तै पवित्र छ। तर, पुल बनाउने, नक्सा बनाउने डिजायन गर्ने पात्रहरूलाई बाबाट सुनाउँदा प्रसंग नमिलेको अनुभव हुन्छ।। यस्ता हरफहरू खिर खाँदा धानका बियाँ मुखमा परेजस्तै बिजाउने खालका छन्। यो कुरा पुस्तक अन्त्यमा लेखकले पनि स्वीकारेका छन्।
२०७० सालको असोजमा काम विशेषलेसाहित्यकार सागर गैरेको पसलमा पुगेको थिएँ। प्लास्टिकको कुर्सीमा चौडा कान, होचो कद, टाउकामा ढाका टोपी पातलो शरीरमा ज्वारीकोट लगाएका शालीन स्वभावका बासँग परिचय भएको थियो। एक दशकपछि ‘मोहर’ उपन्यास झोलामा बोकेर सागर गैरे घरमा आए। आँखाभरि सागरका बा अर्थात घनश्याम गैरे आउनुभयो। सामाजिक सवाल्टर्न बाका विषयमा पुस्तक निकालेर गैरेले बाप्रति उच्च सम्मान गरेका छन्। मोहर आममान्छेको जिजीविषा हो, जसले सुखका लागि काँडामा पनि हिँड्ने शाहस गरे। सन्तान सुखका लागि जिन्दगीलाई दाउमा लगाए। पुस्तकले कोहलपुरको साहित्यिक लेखनलाई थप उचाईमा पुर्याएको छ।