सोमबार, असार ३१, २०८१

कम्पोष्ट मलका लागि सिमालघारीमा ढैँचाखेती

 |  आइतबार, असार ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१

जानकी- बाँकेको खजुरा गाउँपालिका-७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गरेका छन्।

triton college

हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उनले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आएका हुन्। ३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैँचाको बोटले माटोमा नाइट्रोजन स्थिरीकरण गर्नाका साथै प्रांगारिक पदार्थको मात्रा थप्ने हुँदा प्रत्येक वर्ष यो खेती गर्ने गरेको उनले बताए।

'यो लगाएपछि डीएपी मल लगाउनु पर्दैन', उनले भने, 'वर्षामा किसानलाई चाहिने भनेकै युरिया र डीएपी हो तर यो बेलामा समयमै मल पाइँदैन। त्यसको साटो ढैँचाले काम गर्ने हुँदा मैले यही खेती गर्ने गरेको छु।'

एक कट्ठामा तीन किलो डीएपी मल प्रयोग हुने ठाउँमा ढैँचाको बीउ डेढदेखि दुई किलो भए पुग्ने धनबहादुर योगीले बताए। उनले यो वर्षदेखि ढैँचाको बीउको मूल्य बढेको जानकारी दिए। 'अघिल्ला वर्षहरुमा ढैँचाको बीउ खरिद गर्दा मैले ६० देखि ७० रूपैयाँसम्म तिरेको थिएँ,' उनले भने, 'यो वर्ष एक केजी ढैँचाको बीउको भाउ एकसय रूपैयाँ पुगेको छ।'

धनबहादुरजस्तै सोही गाउँका गुमानसिंह गिरीले पनि चार वर्षदेखि १२ कट्ठा जग्गामा ढैँचाखेती गर्दै आएका छन्। ढैँचाखेती गर्न थालेदेखि धान उत्पादन बढेको गुमान सिंहको अनुभव छ। 'धानको बीउका लागि यो असाध्यै राम्रो मल रहेछ,' उनले भने, 'यस्को प्रयोग गर्न सुरु गरेदेखि धान बाली सप्रिएको त छँदैछ उब्जनी पनि बढेको छ।'

Metro Mart
worldlink

ढैँचा कम्पोष्ट मल भएको हुनाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। धनबहादुर र गुमान सिंह जस्तै सोही गाउँका टेकबहादुर योगीले पनि आफ्नो १६ कट्ठा जग्गामा विगत ६ वर्षदेखि ढैँचाखेती गर्दै आएका छन्। ढैँचाको प्रयोगले जग्गालाई उर्वर बनाउनुका साथै धान उत्पादन बढेको उनले बताए। सरकारद्वारा प्रदान गरिने रासायनिक मल समयमा नपाइने झन्झटले ढैँचाखेतीप्रति गाउँका किसानको आकर्षण बढेको छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले माटो सुधारका लागि ढैँचाखेती निकै प्रभाकारी भएको बताए। धान बालीलाई आवश्यक पर्ने कुल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको उनको भनाइ छ। माटोको सन्तुलन बिग्रँदै गइरहेको अवस्थामा ढैँचाखेती किसानका लागि फाइदाजनक भएकाले यस वर्ष केन्द्रले पाँच क्विन्टल ढैँचाको मल वितरण गरेको प्रमुख अहमदले जानकारी दिए।

नेपालमा पाइने ढैँचाका जातहरु सेस्बानिया रोस्ट्राटा र सेस्बानिया क्यानाबिना छन्। यसलाई धान रोप्नु भन्दा ४५ दिनअगाडि ४० केजी प्रतिहेक्टर वा प्रति रोपनी दुई केजीका दरले खेत खनजोत गरी छर्नु पर्दछ।

यीमध्ये सेस्बानिया रोस्ट्राटामा काण्ड र जरा दुवैमा वायुमण्डलीय नाइट्रोजन सोसेर लिन सक्ने ‘राइजोबियम ब्याक्टेरिया’ भएको गिर्खाहरु हुन्छन्। जसले नाइट्रोजन स्थिरीकरणको मात्रा बढाउँछ। ढैँचा लगाएको छ देखि सात हप्ता (फूल फल्ने अवस्था) पछि खेतमा पानी राखी बोटलाई जोत्न सजिलो हुनेगरी काट्ने र जोतेर माटोमुनि पारेर दबाएर राख्नुपर्दछ। यसरी सडाएर राखेको हरियो मल ढैँचाले ८० देखि एक सय ५० केजी नाइट्रोजन प्रतिहेक्टर स्थिरीकरण गर्न सक्ने विज्ञहरुको भनाइ छ। रासस

प्रकाशित: Jun 23, 2024| 22:01 आइतबार, असार ९, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्