आइतबार, पुस १३, २०८२

१५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा, करारका कर्मचारीको भर

 |  सोमबार, जेठ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०८२

सोलुखुम्बु- सोलुखुम्बुस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ। क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ।

National life

अस्पतालका निमित्त प्रमुख डा श्रेया पङ्गेनीले भनिन्, ‘हाम्रो अस्पताल १५ शय्याको हो, तर व्यवहारमा दैनिक ५० बढी बिरामी भर्ना भइरहेका छन्। प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत हामी यहीँबाट दिन बाध्य छौँ, भौतिक संरचना त पर्याप्त छ, जनशक्ति कमजोर छ।’

जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ। तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन्। ती पाँच जनामा एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक, दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन्। बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो, असन्तुलित बनाएको छ।

डा पङ्गेनी भन्छिन्, ‘एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाँही २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ। मनोवैज्ञानिक दबाब धेरै छ।’ हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ।

‘हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२–१३ घण्टासम्म ड्युटी गर्नुपर्छ। मानसिक, शारीरिक थकान अत्यधिक छ। व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ’, अस्पतालमा कार्यरत स्टाफ नर्स दिप्ती चौधरीले भनिन्।

Laxmi sunrise bank
kumari

करारका कर्मचारीको भरमा अस्पताल
अस्पतालमा ३२ जना करारका कर्मचारी छन्। ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन्। अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन।

वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भन्छिन्, ‘छात्रवृत्ति करारका चिकित्सकहरू छ महिना, एक वर्षका लागि आउँछन्। तिनको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ पुग्दैन।’

करारका चिकित्सकहरुले सक्दो योगदान दिएपनि उनीहरु लामो समय रहन नसक्ने भएकाले अस्पतालले बारम्बर चिकित्सकको अभाव झेल्दै आएको छ। अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले भने, ‘हामीले पटकपटक प्रदेश सरकारसँग जनशक्ति माग गरेका छौँ। अस्पतालको स्तरोन्नति, बजेट, जनशक्ति—सबै कुरामा ध्यानाकर्षण गराएका छौँ। तर सुनुवाइ भएको छैन।’ उनले गत साता मात्रै प्रदेशका स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना र तदनुसारको दरबन्दी माग गरेको जानकारी दिए।

प्रदेश स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपूर्ति भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ। स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भने, ‘हामी लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारीमा छौँ। अहिले प्रदेशभर जनशक्ति अभाव छ।’

प्रकाशित: Jun 09, 2025| 07:31 सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्