शुक्रबार, असार १४, २०८१

दोस्रो स्थापना दिवस मनाउँदै रास्वपा, के भने सभापति लामिछानेले ?

 |  शुक्रबार, असार ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रवि लामिछानेले पार्टीका सांसदले सदनको र मन्त्रीहरूले देशको ध्यान तानिरहेको बताएका छन्। पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा उनले रास्वपा हल्ला नै नगरी सिंहदरबारभित्र पसिसकेको टिप्पणी गरेका छन्।

triton college

‘देश तथा विदेशका टोल–टोल वस्ती–वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवाजलाई घण्टीमा रूपान्तरण गरेर दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘२१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तान्यौं। चार मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौं।’

उनले रास्वपा आफ्नो उद्देश्यमा अडिग रहेको बताएका छन्। ‘हामी गन्तव्यमा स्पष्ट छौं। कुरा बाटोको हो; बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ। आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षा सहितका अग्ला–अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिडिरहेका छौं। कैयन् कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन। वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौं,’ उनले भनेका छन्। 

विश्वास गर्ने एक दुई जना मात्र हुँदा पनि हिँड्ने आँट गरेको उनले स्मरण  गरेका छन्। आज पार्टीसँग लाखौंलाख शुभेच्छुकहरू रहेको पनि बताएका छन्। ‘दुई वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरू आज रास्वपा खस्कँदो छ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही ‘टक शो’मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् तर हामी हाम्रो यात्रामा अविचलित छौं,’ उनले भनेका छन्। 

उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका उनले घण्टी सिंहदरबार पसेको र देशको मतपत्रमा सदाका लागि  बसेको पनि बताएका छन्। ‘बाँकी काम हामी गर्छौं तपाईंहरू पीर नलिनूस्, चिन्ता नलिनूस्। सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना!,’ उनले भनेका छन्।

Metro Mart

रास्वपा २०७९ असार ७ गते गठन भएको थियो। गत प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर २, ६, ७, ८, चितवनको क्षेत्र नम्बर १ र २ जितेको रास्वपाले समानुपातिकमा १४ सिटसहित २० स्थान ल्याएर चौथो शक्ति बनेको थियो। २०८० वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर एक समेत जितेको थियो।

पार्टी स्थापना दिवसको अवसरमा रास्वपाले आज बिहान साढे ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ। केन्द्रीय कमिटीमा पार्टी स्थापना दिवसको शुभकामना आदान–प्रदान हुनेछ। आज रास्वपाले दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम पनि राखेको छ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा गर्न लागिएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, संघीय सांसदहरू, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अंगका प्रमुख, पार्टीका समर्थक, शुभेच्छुकहरूलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।

प्रकाशित: Jun 21, 2024| 11:22 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्