काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र महिलाहरुलाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताएका छन्।
लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उनले पार्टी अन्तरघातबाट मुक्त हुने हो भने महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको बताए।
‘महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ। यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु,’ सभापति देउवाले भने। समावेशीकरण, समानुपतिक विकासको आवाज नेपालमा पनि उठिरहेको बताउँदै उनले त्यसले महिलालाई उच्च ओहदाम पुर्याउने बताए।
‘अहिले महिलाहरुको अधिकारका लागि, समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै आवाज उठेको छ। त्यही हिसावमा नेपालमा पनि महिला राष्ट्रपति समेत भइसक्नुभयो। विद्या भण्डारीजी दुईपटक राष्ट्रपति हुनुभएको छ। भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ। महिलाहरुले त्यस किसिमको योग्य, सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ,’ सभापति देउवाले भने।
यस्तै, नेपालीको राजनीतिक परिवर्तनमा महिलाहरुको अग्रणी भूमिका रहेका रहेको पनि बताए। साथै उनले आगमी दिनमा नेतृत्व विकासमा पनि महिलाको अग्रणी भूमिका दिन सके महिलाको भूमिका अझ प्रभावकारी र शक्ति हुने विश्वास व्यक्त गरे। निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्ने सन्दर्भमा नहार्ने खालको तयारीका साथ महिला सशक्तिकरणको अभियान अघि बढाउनुपर्ने पनि उनको भनाइ छ।