मंगलबार, मंसिर ११, २०८१

अनुभूति
Siddartha premir insuranceSiddartha premir insurance

…यो मन त मेरो नेपाली हो

 |  शनिबार, असार १, २०८१
nespernesper

डा‍. चन्द्र गिरी

डा‍. चन्द्र गिरी

शनिबार, असार १, २०८१

एकजना दौंतरीले कुरैकुरामा जिज्ञासा राखे- संसारमा कति नेपाली होलान् ? प्रश्न सामान्य थियो तर उत्तर सहज थिएन। म अक्क न बक्क भएँ। नेपालमा कति नेपाली छन् भनेर सोधेको भए फ्याट्टै उत्तर दिन सक्थें होला। ‘राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या पुगनपुग ३ करोड छ तर संसारभर कति नेपाली छन् भनेर ठ्याक्कै भन्न सक्दिनँ’ भनेर जवाफ फर्काएँ। 

triton college

मलाई सोधेको प्रश्नको उत्तर उनी आफैंसँग पनि रहेनछ। म घोत्लिरहेकै थिएँ, अर्का मित्रले टिप्पणी गरे- देशलाई चटक्कै बिर्सेर विदेशिनेलाई  के नेपाली भन्नु ! हामी तीन करोड नेपाली।

उनको यो भनाइले अर्को एउटा प्रश्न थपिदियो। वास्तवमा ‘नेपाली’ भनेको को हो अनि को होइन ? आफू स्वयं विगत ३२ वर्षदेखि विदेशमा बसिरहेको र अमेरिकाको नागरिक पनि भइसकेको हुनाले उनको कुराले चसक्क घोच्यो। 

यी दुईवटै प्रश्नको उत्तर खोज्नु आवश्यक छ। बहस सुरु गर्नु वा जारी राख्नु जरुरी छ। 

विदेशिनु एक सामान्य प्रक्रिया 
सदियौंदेखि चलिआएको प्रथा हो बसाइँसराइ। यो प्रक्रिया मानव प्रजातिको उत्पत्तिसँगै जोडिएको छ। बसाइँसराइ गर्ने प्रक्रिया मान्छेको सामाजिक, सांस्कृतिक र प्राकृतिक मात्र हैन जैविक वा जेनेटिक संरचनामा नै गाँसिएको छ। हामी सबै पूर्वी अफ्रिकाबाट छरिएर विभिन्न ठाउँमा पुगेका हौं। मानिस र जनावरमात्र कहाँ हो र ? बोटबिरुवामा पनि ‘माइग्रेसन र डिस्पर्सन’ हुने गर्छ जुन एक प्राकृतिक प्रक्रिया हो। 

Metro Mart
vianet

आधुनिक नेपालको हकमा भने सन् १९७० को दशकयता विश्वमा भएको राजनीतिक परिवर्तन र यातायातको सुगमताका कारण आप्रवासीको संख्या बढेको छ। त्यसअघि पनि विदेश जाने प्रचलन नभएको होइन। खासगरी भारत र तिब्बत जाने प्रचलन निकै पुरानो हो। तर विशेषगरी सन् १९९० पछि उच्च शिक्षा तथा रोजगारीको अवसर खोज्दै विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेको देखिन्छ। 

प्रविधिको विकासका कारण विश्व साँघुरिँदै गर्दा माइग्रेसन र डिस्पर्सन बढेको मात्र हैन, संसारको कुना-कुना सम्म फैलिन थालेको छ। त्यस अर्थमा विदेशिनुलाई सामान्य रुपमा लिनुपर्छ जस्तो लाग्छ। 

नेपाली हैन भन्न कहाँ मिल्छ र ?
विदेशिनु भनेको मानिसको भौतिक शरीरले आफ्नो देश छोड्नु मात्र होइन। बाध्यता होस् वा रहर जुनसुकै कारण वा परिस्थितिमा विदेशिए पनि मानिसले आफ्नो भौतिक शरीरमात्र लिएर गएको हुँदैन। आफ्नो भाषा, भेषभुषा, संस्कृति, गीतसंगीत, मूल्यमान्यता, स्वाद आदि पनि सँगसँगै लिएर गएको हुन्छ। त्योभन्दा पनि ठूलो कुरा मातृभूमिको अगाध माया छातीभरि बोकेर गएको हुन्छ। भावनात्मक रुपमा भन्दा उ नेपाल रुँदा रुन्छ अनि नेपाल हाँस्दा हाँस्छ। 

कसरी देशको विकासमा योगदान गर्न सकुँला भनेर सोचिरहेको हुन्छ, योजना बनाइरहेको हुन्छ। आफूले आर्जन गरेको ज्ञान, सीप र पुँजी कसरी जन्मभूमिमा लैजान सकिन्छ भन्ने प्रश्न अधिकांशको मनमा उठिरहेको हुन्छ। यसको प्रमाण देशमा भित्रिरहेको ठूलो रकमको रेमिट्यान्स पनि हो। पैसामात्र नभएर ज्ञान, सीप र नयाँ व्यवसायको सोचसहित नेपाल फर्किने नेपालीहरूको संख्या विस्तारै बढिरहेको छ। विदेशमा धन कमाएका नेपालीहरुले सञ्चार, जलविद्युत, बैंक तथा वित्तीय संस्था, पर्यटनजस्ता क्षेत्रमा अर्बौं लगानी गरेका उदाहरण छन्। विदेशमा लगानीका अवसर नभएर होइन, देशको मायाले पनि पुँजी, ज्ञान र सीप भित्रिएको हो।

जुनसुकै नेपाली एकदिन मातृभूमि फर्किन्छु भन्ने सोच बोकेर विदेशिएको हुन्छ। विविध कारणवश उ फर्कला-नफर्कला त्यो बेग्लै विषय हो। विदेश पुगेपछि पनि प्रविधिको उपयोग गरेर आफन्त र साथीभाइसँग नजिक वा सम्पर्कमा बसेको हुन्छ। आफूमात्र नभई आफ्ना सन्तान दर-सन्तानलाई  पनि नेपालसँग जोड्न हरदम कोसिस गरिरहेको हुन्छ।  यस अर्थमा एक पटकको नेपाली सधैंको नेपाली हो भन्न सकिन्छ।

छिमेकी देशको पनि उदाहरण हेरौं न। चीनमा पहिले लगानी भित्र्याउने आप्रवासी चिनियाँहरू नै थिए। भारतको बैंग्लोरलाई सूचना क्रान्तिको नमुना शहर बनाउनेहरु विदेशमा ज्ञान, सीप र धन कमाएका प्रवासी भारतीय नै हुन्। थुप्रै देशमा यस्ता उदाहरण छन्। संसारभर फैलिएका नेपालीहरूको सीप र पुँजीलाई परिचालन गर्ने हो भने नेपाल पनि केही वर्षभित्रै यस्तै उदाहरण बन्न सक्छ। यी तथ्यहरु विश्लेषण गर्दै विदेशिने नेपालीलाई नेपाली होइन भन्न मिल्ला र भन्दै मनमनै आफूलाई प्रश्न गरें। 

नेपालको संविधान २०७२ मा दोहोरो नागरिकताको समेत व्यवस्था भइसकेको हुनाले विदेशिने नेपालीलाई नेपाली हैनन् भन्न मिल्दैन। नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

यसबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो जन्मभूमिमा सीप, ज्ञान र धन लिएर आउने आधार तयार भएको छ। जहाँ रहे पनि मेरो देश नेपाल हो, त्यहीँ केही गर्छु भन्ने महसुस भएको छ। विदेशमै रहेर पनि पर्यटन प्रवर्द्धन, निकासी व्यापार विस्तारलगायत धेरै क्षेत्रमा नेपाली सक्रिय हुन सक्छन्। देशको सद्भावना दूतका रूपमा काम गर्न सक्छन्। यसले फाइदामात्र छ, बेफाइदा केही छैन।

विदेशमा देश प्रेम 
विदेशमा बस्दा नेपालको माया झन् बढी लाग्दो रहेछ। यो कुरा विदेशमा बस्ने आप्रवासी नेपालीहरुले सयौं वर्षदेखि भन्दै आएको कुरा हो। हालसालै अमेरिकाको डालासमा सम्पन्न नेपाल र नेदरल्याण्डबीचको आईसीसी टी-२० क्रिकेट म्याच हेर्न ग्रयाण्ड पेरी क्रिकेट स्टेडियम पुगेका १५ हजार नेपाली फ्यानको उत्साह देखेर दुनियाँ चकित भयो।

Untitled-1-1718378622.jpg
पूरै स्टेडियम नेपालीहरुले खचाखच भरिएको थियो र उनीहरुको उत्साह अन्य सबै देशका क्रिकेट प्रेमीहरुकाे भन्दा बढी थियो। नेदरल्याण्डका खेलाडीहरुले ‘अमेरिकामा हैन नेपालमा खेलेजस्तो लाग्यो’ भनेर प्रतिक्रिया दिएका थिए। नेपाली सञ्चारकर्मीहरुले पनि डालासमा हैन कीर्तिपुर मैदानमा क्रिकेट हेरे जस्तो लाग्यो भनेका थिए। विदेशमा बसेर पनि नेपाली क्रिकेटको हौसला बढाउन स्टेडियममा ओइरिएका थिए अमेरिका र अन्य देशमा बस्ने नेपाली। 

यस्तो माया नयाँ हैन। बर्मा, भारत र भुटान गएर नेपालीहरुले भाषाप्रति प्रेमभाव देखाएको कुरा कवि शिरोमणि लेखनाथ पौडेलले लेखेको कवितामा प्रष्ट हुन्छ।  

बर्मा, सिक्किम, दार्जिलिङ र मलाया, आसाम, सिंगापुर 
कालिम्पोङ र देहरादुन तथा भुटान, भक्सुतिर 
बस्ने जो प्रिय बन्धु छन्, सकलको यै राष्ट्रभाषाप्रति 
देख्दा प्रेम सदैव हर्ष मनमा उर्लन्छ मेरो अति

संसारभर कति नेपाली ?
संसारभर कति नेपाली छन् र नेपाली भनेको को हो भन्ने जवाफ दिन सजिलो छैन। नेपालको जनसंख्या त जनगणनाले बताउँछ तर संसारका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीको तथ्यांक कसरी थाहा पाउने ? यसबारे बहस भने जारी राख्नु जरुरी छ। नेपालमा जति नै नेपालीहरु देशबाहिर छन् भनिन्छ। यो तथ्यको पुष्टि त भएको छैन तर यसलाई खण्डन गर्ने आधार पनि छैन। 

आज नेपालीहरु संसारका कुन कुनामा पुगेका छैनन् ? रियो डी जेनेरियोको कोपा कोबानामा होस् वा न्युयोर्कको टाइम्स स्क्वायरमा, अथवा नैरोबीको डाउन टाउनमा होस् वा लण्डनको हेरोल्ड डिपार्टमेन्ट स्टोरमा। ‘तपाईं नेपाली हो ?’ भनेर कतिले मलाई ठम्याएका छन् भने कतिलाई मैले चिनेको छु। संसारभर छरिएका यस्ता नेपालीहरुको लेखाजोखा हुन सकेको छैन। 

संसारमा कति नेपाली छन् भन्नलाई को नेपाली हो र को होइन भन्ने प्रश्नको उत्तर जान्नु जरुरी छ। ‘नेपाली’को परिभाषा नभई कति भन्ने प्रश्नको उत्तर भेटिँदैन। देशभित्र बस्ने नेपालीको हकमा कुनै द्विविधा छैन। देशको राजनीति, संविधान वा नीतिनियमले नेपाली भन्नाले ‘नेपालको नागरिक’ भनेर परिभाषित गर्छ र सोझै राष्ट्रियतासँग लगेर जोडेको छ। त्यस अर्थमा नेपालमा करिब तीन करोड नेपाली छन्। देशबाहिर बस्ने र विदेशी नागरिकता लिएकाहरुलाई नेपाली भाषी विदेशी, परदेशी, एनआरएन, नेप्लिज डायसपोरा आदि नामले पुकारिन्छ र यी शब्दहरुको आ-आफ्नै परिभाषा छ। 

विदेशमा बस्ने नेपालीहरु पनि विभिन्न खाले छन्: 
(क) नेपाली नागरिक तर हाल विदेशमा काम गरिरहेका
(ख) भूतपूर्व नेपाली नागरिक तर हाल विदेशी नागरिकता लिएका
(ग) नेपाली मूलका विदेशी नागरिक जसका बाउबाजे, बराजु वा पुर्खा नेपाली नागरिक थिए। 

कतिपय देशमा ८-१० पुस्तादेखि बसोबास गरिरहेका नेपाली मूलका मानिसहरु छन्। देशको नीतिनियमले व्याख्या गरेको साँघुरो परिभाषामा ती करोडौं नेपाली अटाउँदैनन्। भनिन्छ तिनै खाले नेपालीहरु आज कम्तिमा पनि विश्वका १४७ देशमा छरिएर बसेका छन्। पहिले छिमेकी देश भारत जाने चलन थियो।

विस्तारै अन्य एसियाली देशहरु र ब्रिटिश गोर्खाको रुपमा ब्रिटेन र उसका उपनिवेश देशहरुमा जाने चलन बढ्यो। गणतन्त्र आएपछि खाडी मुलुक, मलेसिया, साउथ कोरिया, जापान, अस्ट्रेलिया, न्युजील्याण्ड, अमेरिका, क्यानाडा र केही युरोपेली मुलुक जाने प्रचलन ह्वात्तै बढ्यो। सन् २००५ मा दैनिक करिब ५०० जना नेपाली त्रिभुवन विमानस्थल छोड्थे भने आज सन् २०२४ मा यो संख्या दिनको २२ सय पुगेको छ। यो क्रम जारी रह्यो भने भविष्यमा नेपालमाभन्दा नेपालबाहिर बढी नेपाली हुने सम्भावना प्रबल छ। 

कोही स्थायी त कोही अस्थायी रुपमा बसाइँ सरेका छन्। एउटा देशमा गएर फेरि अर्को देशमा सर्नेहरु पनि प्रशस्तै छन्। तसर्थ पनि विदेशमा कति नेपाली छन् भनेर अनुमान गर्ने काम चुनौतीपूर्ण छ। बसाइँसराइ हुने कारणहरुमा आर्थिक स्थिति, राजनीति, वातावरण र आप्रवासन सम्बन्धी नीतिहरु आदि हुन्। यी कारणहरु समयसँगै परिवर्तन भइरहेका हुन्छन। तसर्थ जुनसुकै तथ्यांक एउटा अनुमानमात्र हुन जान्छ। 

जो जहाँ बसे पनि ती सबै देशको जनगणनाले त्यहाँ नेपाली कति छन् भनेर किटान गर्दैन किनकि उनीहरुको जनगणना गर्ने विधि आ-आफ्नै छ। कतिपय देशले नेपालीहरुलाई छुट्टै वर्गमा राखेका छैनन् वा अन्य समूहसँग गाभिदिएका छन्। उदाहरणको लागि केही युरोपेली देशहरुले नेपालीलाई ‘एसियन’ को समूहमा मिसाइदिएका छन्। अलिक राम्रो तथ्यांक भएको भारतको आसाम राज्यमा मात्र एक करोड नेपाली छन् भनेर विज्ञहरु बताउँछन्। 

विश्वमा सबैभन्दा बढी आप्रवासी भएको देश भारतले पनि विश्वभर कति भारतीय छन् भनेर यकिनका साथ भन्न सकेको छैन। अन्य देशको पनि हालत त्यस्तै छ। त्यस अर्थमा नेपालीको पनि सायद कहिल्यै सही आँकडा दिन नसकिएला।  

नेपाली को हो र को होइन भन्ने प्रश्नमा विश्वलाई नै एउटा देश ठानेर फराकिलो परिभाषा हुन जरुरी छ। त्यस अर्थमा एकपटकको नेपाली सधैंको नेपाली हुन्छ। वंशज र भावनात्मक रुपमा नेपाल र नेपालीसँग जोडिएका सबै नेपाली नै हुन्। नेपाली ब्याण्ड १९४७ ए. डी. ले २००८ मा रिलिज गरेको यो गीतले पनि धेरै हदसम्म बोल्छ।  

जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो

(गिरी अमेरिकी वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालय, अमेरिकाका एड्जन्क्ट प्रोफेसर हुन्)
 

प्रकाशित: Jun 15, 2024| 08:05 शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कानुन बने चल्छ मोटरबोट व्यवसाय

कानुन बने चल्छ मोटरबोट व्यवसाय

पर्यटन क्षेत्रलाई चलायमान बनाउन र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको मोटरबोट व्यवसाय भने आफैँ कानुनको पर्खाइमा छ। स्पष्ट कानुन नहुँदा यसको दर्तादेखि सञ्चालन...
भूगर्भमै सीमित बागलुङका तामाखानी

भूगर्भमै सीमित बागलुङका तामाखानी

दशकौं अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्णरुपमा खानी बन्द छन्।