काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
त्यसअघि मुख्यमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए। अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।
मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन। ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन्।