शनिबार, असोज १२, २०८१

दश वर्षपछि विश्वकप खेल्दा देशभर उत्साह

 |  मंगलबार, जेठ २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

काठमाडौं- आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग पहिलो खेल खेल्दै छ। अमेरिकामा हुन लागेको खेल नेपाली समय अनुसार राति साढे ९ बजे सुरु हुनेछ।

triton college

लामो समयपछि विश्वकपमा सहभागी हुन पाउँदा नेपाली खेल क्षेत्र त उत्साहित छ नै, देशभर उत्साह छ। काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा टी-ट्वान्टी विश्वकप क्रिकेट खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन्। महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु नपर्ने महानगरले जानकारी दिएको छ। प्रदर्शनस्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ।

टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति पनि रहने महानगरले जानकारी दिएको छ।

Metro Mart
vianet

देशका अन्य स्थानीय तहहरुले पनि खेलको प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेका छन्।टी–२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय तहलाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन नै दिएको छ। सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक समन्वय र सहजीकरणका लागि सचिवस्तरीय निर्णय अनुसार अनुरोध गरिएको हो।

मन्त्रालयले सबै स्थानीय तहहरूले सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम उपयुक्त गरी नेपाल खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन अनुरोध गरिएको छ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ। त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ।

nepali-team-cricket-1717477622.JPG
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए। नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो।

त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे।
 
यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन्। उनी १८ वर्ष भएका छन्।

विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना प्रदान गरेका छन्। प्रधानमन्त्रीले पनि खेलाडीहरुलाई शुभकामना दिएका छन्।

अमेरिका र वेस्ट इन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन्। त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन्।

विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन्। नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।

प्रकाशित: Jun 04, 2024| 16:42 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्