काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि जारी छ। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि छलफल सुरु भएकव छ।
सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन्। अधिकांश सांसदहरू आफ्ना कुरा राख्दै हिँड्दै गरेपछि संसद् भवनमा कुर्सीहरु खाली देखिएका छन्। भएका केही सांसद पनि निदाउँदै-ब्युझँदै गरिरहेको देख्न सकिन्छ।
यसप्रति लक्षित गर्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद् दिक्कलाग्दो र रमाइलो नभएको बताए। रोष्टमबाटै केसीले बजेटमाथिको छलफल पनि औचित्यहीन बन्दै गएको बताएका छन्।
बजेटमाथिको छलफलमा भाग लिँदै केसीले अर्थमन्त्रीले पेस गरेको बजेट जति छलफल गरे पनि तलमाथि नहुने भएकोले छलफल औचित्यहीन भएको धारणा राखे। 'यहाँ जति उफ्रे पनि सत्ता पक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ केसीले भने, ‘आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएँछु एकछिन। यस्तो पो हुन गयो। रमाइलो छैन संसद्, दिक्क लाग्दो छ।’