शुक्रबार, वैशाख ४, २०८३

खोटेहाङको सुम्लिखामा यलम्बर उद्यान

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

खोटाङ- खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ। खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो।

National life

वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्णकदको सालिक राखिएको छ। पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्णकदको सालिक, खानेपानीको धारा, प्रतिक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएका छन्।

उद्यान स्थापनाले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताए। “सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ। हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौं”, उनले भने, “यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो। यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

किराँत राई बान्तावा समुदायको ऐतिहासिकस्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राईले औपचारिक रुपमा उद्घाटन गरे। बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिए।

वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, किराँती पुर्खालगायतको उपस्थिति रहेको थियो। सुम्लिखामा हरेक वर्षको उभौली र उधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको छ। जिल्लाका दश स्थानीय तहमा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवर्द्धनका काम तीव्र गतिमा भइरहेका छन्।

kumari

 

प्रकाशित: May 31, 2024| 11:59 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार