आइतबार, असार १, २०८२

केराबाट कसरी बनाइन्छ सेनेटरी प्याड र कपडा ?

 |  शुक्रबार, जेठ १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

vianetvianet

गलेश्वर (म्याग्दी)- यहाँको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन्। बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउने तालिम लिइरहेका छन्।

ज्यामरुककोटका १४ वटा आमासमूहका महिलाहरु सहभागी उक्त तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ। तालिमपश्चात् सहभागीले सेनेटरी प्याडलाई आर्थिकोपार्जनको माध्यम बनाउने र व्यावसायिकरुपमा उद्योग सञ्चालन गर्ने जनाएका छन्। बेनी नगरपालिका-२ खबरा र बगरफाँट गाउँ केराको पकेट क्षेत्र मानिन्छ। फल दिने समय सकिएपछि किसानलाई केराको थाम व्यवस्थापनमा झन्झट हुँदै आएको थियो। खेर गएको केराको थामबाट सेनेटरी प्याड बन्ने भएपछि किसानलाई पनि सहज हुने भएको छ।

तालिमका प्रशिक्षक सन्दिप सापकोटाका अनुसार सेनेटरी प्याड बनाउन पहिलो चरणमा केराको थामलाई लामो रुपमा टुक्रा निकालेर सुकाइन्छ। दोस्रो चरणमा सुकेको टुक्रालाई मेसिनमा पेलेर फाइबर बनाइन्छ र फाइबरलाई ‘प्यूरीफाइ’ गरी सेनेटरी प्याड बनाइन्छ। केराको थामबाट फाइबर निकाल्ने चरणसम्म आउन चारदेखि पाँच दिन लाग्ने उनको भनाइ छ। केराको फाइबरबाहेक आवश्यकपर्ने अन्य कपडा बजारबाट खरिद गरेर ल्याइन्छ। फाइबर निकाल्ने मेसिन धेरै महँगो नहुने भएकाले महिलाले समूह बनाएर व्यवसाय सुरु गर्नसक्ने उनले बताए।

तालिम लिएर समूह बनाई उद्योग सञ्चालन गर्ने तालिमका सहभागी उषा घिमिरेले बताइन्। “गाउँघरमा खेर गएको केराको थामबाट सेनेटरी प्याड बनाउन सकिने रहेछ। अब समूह बनाएर आवश्यकपर्ने मेसिन उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गर्छौं”, उनले भनिन्। उद्योग सञ्चालनका लागि धेरै महँगो पनि नपर्ने प्रशिक्षक सापकोटाको भनाइ छ। “चारदेखि पाँच लाखसम्ममा मेसिन पाइन्छ। त्यसबाहेक कपडा सिउने मेसिन आवश्यक पर्छ। त्यो पनि धेरै महँगो नहुने भएकाले यो पेसा थोरै लगानीमा सुरु गर्न सकिन्छ”, उनले भनिन्। 

जिल्लाभित्रका स्थानीय तहहरुले वार्षिक रु १५ लाखदेखि २० लाखसम्म सेनेटरी प्याडमा खर्च गर्दै आएका छन्। पालिकाले विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको छ। तालिम लिएका महिलाले सामूहिकरुपमा उद्यम सञ्चालन गर्न खोजे पालिकाले मेसिन र आवश्यक सामग्री खरिदको व्यवस्था गरिदिने बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताइन्। “यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ। कार्यक्रम वडा नं २ र १० मा लागू भएको छ”, उपप्रमुख लामिछानेले भनिन्, “आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य छ।” रासस

प्रकाशित: May 31, 2024| 07:37 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्