आइतबार, भदौ ७, २०८३

दोस्रो प्रयासमा पनि पाएनन् सन्दीपले अमेरिकाको भिसा

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

काठमाडौं- भिसाका लागि क्रिकेटर सन्दीप लामिछानेले दिएको आवेदन काठमाडौँस्थित अमेरिकी दूतावासबाट दोस्रो पटक पनि अस्वीकृत भएको छ। राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन इन्कार गरेको हो।

लामिछानेमाथि बलात्कार अभियोग लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको थियो। उच्च अदालतबाट सफाइ पाएपछि क्यानले उनको निलम्बन फुकुवा गरेर टी२० विश्वकप खेल्ने टोलीमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो। त्यसपछि उनले भिसाका लागि अमेरिकी दूतावासमा आवेदन दिएका थिए।

गत साता उनले दिएको आवेदन दूतावासले अस्वीकृत गरिदिएको थियो। त्यसपछि क्यानले परराष्ट्र मन्त्रालयमार्फत उनको भिसाका लागि पहल गरिदिन आग्रह गरेको थियो। दूतावासले बिहीबार उनलाई कार्यालयमा बोलाए पनि भिसा नदिएको क्यानका अधिकारीले जनाएका छन्। भिसा नदिनुको कारण भने खुलेको छैन।

‘गौशाला २६’ ले २०७९ भदौ २१ गते काठमाडौँको गौशाला प्रहरीमा लामिछानेविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन्। यो मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौँले गत पुसमा ८ वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिबाना सुनाएको थियो। तर उच्च अदालत पाटनले जिल्लाको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिने फैसला गरेको थियो।

टी२० विश्वकप खेल्न नेपाली टोली अमेरिका पुगिसकेको छ। नेपालले पहिलो खेल जुन ४ (जेठ २२ गते) मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ। भिसा नपाउँदा लामिछाने विश्वकप खेल्न जान नपाउने भएका छन्।

यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले शुरूमा भिसा दिएको थिएन। सामाजिक सञ्जालमा आलोचना भएपछि दूतावासले बोलाएर भिसा दिएको थियो।

प्रकाशित: May 30, 2024| 18:43 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्