बिहीबार, पुस १०, २०८२

खलंगामा खानेपानीको चरम अभाव, होटल व्यवसायी मर्कामा

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

त्रिवेणी- रुकुम पश्चिमको सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका-१ खलंगामा पानीको चरम अभाव भएको छ।

National life

विगत एक महिनादेखि जिल्ला सदरमुकाम खलंगा, बागबजार, सेरिगाउँलगायत आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो। बैशाख महिनादेखि नियमित खानेपानी नआउँदा पानीको समस्या झेल्नुपरेको मुसिकोट-१ त्रिवेणी चोकमा केटु होटल सञ्चालन गरेका उदिराम खत्रीले जानकारी दिए।

उनका अनुसार बैशाख महिना सुरु भएसँगै नियमति खानेपानी प्रयोग गर्न सकिएको छैन। 'पहिले हरेक दिन दुई घण्टा साँझ बिहान नियमित पानी आउँथ्यो, करिब एक महिना भयो नियमित खानेपानी आएको छैन, एक दिन बिराएर आधा घण्टा पानी आउँछ होटल चलाउन निकै समस्या भएको छ', खत्रीले भने। नियमित पानी नआउँदा नजिकैको टटेला मुहानबाट पानी बोकेर गुजारा चलाउनुपरेको उनले सुनाए।

खलंगामै एकान्त होटल सञ्चालन गर्दै आएकी कान्ता ओलीले खानेपानीको समस्या निकै झेल्नु परिरहेको बताइन्। 'पहिलेको वर्ष पानीको यस्तो हाहाकार भएको थाहा भएन, यस पटक त निकै समस्या भएको छ, दिनमा एक घण्टा मात्रै पानी आउँछ, सबै भाँडा भर्न पाइँदैन, कहीलेकाहीँ त होटेलमा आउने ग्राहकलाई समेत दिने पानी हुँदैन', ओलीले भनिन्। पानी अभाव हुँदा सहिद मार्ग नजिकै रहेको मुहानमा गएर पानी लिने गरेको उनले बताइन्।

मुसिकोटमा होटल सञ्चालन गर्ने व्यवसायीलाई मात्र खानेपानीको समस्या नभएर खलंगामा कोठा भाडा लिएर अध्ययन गर्ने विद्यार्थीलाई समेत खानेपानीको समस्या हुने गरेको छ। एक दिन बिराएर बिहान मात्रै खानेपानी आउँदा नियमित सरसफाइमा समस्या हुने गरेको यमुनानन्द नमुना मावि कक्षा ९ मा अध्यनरत छात्रा गंगा पुनले बताइन्। कोठामा पानी जम्मा गर्ने भाँडा नुहँदासमेत आफूलाई बिहान भरेको पानीले दुई दिनसम्म नपुग्दा समस्या हुने गरेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

यसअघिका वर्षमा बैशाख, जेठ महिनामा पानीको यति धेरै समस्या नभएको स्मरण गर्दै खानेपानीको समस्या हुन नदिन मुहानको संरक्षण गरेर उपभोक्तालाई नियमित पानीको व्यवस्था मिलाउनुपर्ने मुसिकोट-१ खलंगाकी अन्जना नकाल ओलीले बताइन्। बैशाख जेठ महिनामा खानेपानीको समस्या हुँदा नजिकै मुहान भएका ठाउँमा पनि दिउँसो पालो नपाइने हुँदा रातिमा पानी भर्न जाने समस्या रहेको उनले बताइन्।

उपभोक्तालाई खानेपानी नियमितका लागि नगरपालिका तथा मुसिकोट खानेपानी उपभोक्ता समितिले चासो देखाउनुपर्ने उनले बताइन्। मुसिकोट खानेपानी सरसफाइ उपभोक्ता समतिमार्फत हाल खलंगा, बागबजार, सेरिगाउँ र पिपलनेटासहित एक हजार ७२ बढी उपभोक्ताले पानी प्रयोग गर्दै आएका छन्।

यी सबै उपभोक्ताले अहिले नियमति पानी प्रयोग गर्न पाएका छैनन्। यस विषयमा मुसिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भने चैतदेखि मुहान सुक्दै गएपछि उपभोक्तालाई नियमित पानी पुर्‍याउन नसिकएको जनाएको छ।

बजारवासीका लागि तीन लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण भए पनि हाल उक्त ट्यांकीमा दैनिकी एक लाख लिटर मात्र पानी जम्मा हुने गरेको मुसिकोट सरसफाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर नेपालीले जानकारी दिए।

उनका अुसार ट्यांकीमा जम्मा भएको २० हजार लिटर पानी पाइपमा पुग्दासम्म सकिने र बाँकी रहेको ८० हजार लिटर पानी वितरण गर्ने गरिएको छ। उक्त पानी बजारवासीका लागि प्रर्याप्त नहुने उनले जानकारी दिए। पानी अभाव भएपछि एक दिन खलंगासहित मैदान र पिपलनेटा तथा अर्को दिन बागबजार, सेरिगाउँ लगायतका ठाउँमा वितरण गर्ने गरिएको छ।

पहिले नियमित साँझ र बिहान पानी वितरण गर्ने गरिएकामा अहिले एक दिन बिराएर बिहान एक घण्टा पानी वितरण गर्ने गरिएको अध्यक्ष नेपालीले जानकारी दिए। समितिले मुहानको संरक्षण गरेको उल्लेख गर्दै उनले मुहान सुक्दै गएपछि खानेपानीको समस्या भएको बताए।

'मुहान नफुट्दासम्म बजारबासीले खानीपानीको समस्या झेल्नुपर्ने देखिन्छ, अहिलेसम्म यसको लािग वैकल्पिक उपाय केही छैन', उनले भने, 'बैशाख जेठमा पनि बजारबासीलाई नियमित रुपमा पानी वितरण गर्न वैकल्पिक उपाय खोजीका बारेमा भने नगरपालिका तथा मुसिकोट सरसफाइ खानेपानी उपभोक्ता समितिले चासो देखाएको देखिँदैन।' रासस

प्रकाशित: May 30, 2024| 20:31 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्