आइतबार, भदौ ७, २०८३

पूर्व-पश्चिम राजमार्ग

काँकडभिट्टा-केरखा खण्ड स्तरोन्नति धमाधम

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

झापा- पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा-केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ। उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ।

एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा-लौकही खण्डको ९५.७६ किलोमिटर सडक  पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ।

पूर्वी खण्डको ४५ किलोमिटर सडकमा पुल, कल्भर्ट र माटो भर्ने काम जारी रहेको एभ्रास्कन-कालिका जेभीका कन्ट्र्याक्ट म्यानेजर उज्ज्वल प्रसाईंले बताए। पूर्वी खण्डको पुल र सडक निर्माणको ठेक्का एभ्रास्कन-कालिका जेभीले लिएको छ।

पूर्वी खण्डमा १८ पुल र एक सय ४३ कल्भर्ट निर्माण गरिने छ। हाल उक्त खण्डमा १० पुलको काम भइरहेको छ।

चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी काम भइरहेको प्रसाईंले बताए। द्रुत गतिमा काम सम्पन्न गर्ने लक्ष्यका साथ हाल ६५ निर्माणस्थलमा बक्स कल्भर्टको दुई किनाराको फाउन्डेसन निर्माण भइरहेको छ। बर्खापछि राजमार्गमा आवागमन अवरोध नहुने गरी दुई किनाराबाट सवारी ओहोरदोहोरको व्यवस्था मिलाएर कालोपत्र गरिने उनले बताए।

हाल राजमार्ग रहेको बीचको भाग भत्काएर नयाँ बनाइने छ। यसरी स्तरोन्नतिको काम गर्दा यातायात अवरुद्ध कम हुन्छ।

सडकमा अहिले माटो भर्ने काम भइरहेको छ। डेढ लाख घनमिटर माटो भर्ने कार्य सकिएको र त्यसलाई रोलर मेसिनले सम्याएर सडकको स्वरुप दिने कार्यलाई प्राथमिकता दिइएको प्रसाईंले बताए। स्तरोन्नति थाल्नुअघि सडक क्षेत्रका रुख काटिएका थिए। रासस

प्रकाशित: May 30, 2024| 20:01 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्