आइतबार, असार १, २०८२

तराईमा गर्मी अचाक्ली, काठमाडौंको पनि तापक्रम बढ्दो

 |  बिहीबार, जेठ १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

vianetvianet

काठमाडौं- पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ। भैरहवादेखि पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको छ। 

तापक्रम पनि पश्चिम तराईमा उच्च छ। बुधबार देशभरमै सबैभन्दा धेरै धनगढीमा ४३.३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ, जुन धनगढीका लागि १२ वर्षयताकै उच्च तापक्रम हो। तर, पूर्वी र मध्यतराईमा तातो हावा नचले पनि गर्मी भने धेरै नै छ।

बुधबार विराटनगरको अधिकतम तापक्रम ३६.६, धरानको ३६ र जनकपुरको ३९.८ डिसे मापन भएको छ। बंगालको खाडीमा बनेको रेमल नामक चक्रवातका कारण पूर्वी तराईसहित कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा भएको छ, जसका कारण तापक्रम बढ्न नपाएको हो। 
नेपालमा मनसुन भित्रिन भने अझै समय लाग्छ। भारतको केरला क्षेत्रमा १ जुनसम्म मनसुन पुग्दा त्यसको कम्तीमा १० दिनमा पूर्वी नेपालमा पुग्ने आकलन गरिन्छ। 

पश्चिम तराईमा वैशाख पहिलो सातादेखि नै तातो हावा र तातो हावाको लहर चल्न थालेको हो। वैशाख तेस्रो साता वर्षाका कारण जनजीवन सहज भए पनि त्यसपछि फेरि तापक्रम उकालो लागेकामा अघिल्लो साता पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा हुनुका साथै तराईका केही ठाउँमा फाटफुट वर्षा हुँदा तापक्रम धेरै बढ्न पाएको थिएन। 

मौसम पूर्वानुमान महाशाखाले यसपटक गर्मीयाममा तातो हावासम्बन्धी छैटौँ बुलेटिन जारी गर्दै १८ जेठ (शुक्रबार) सम्म तातो हावाको लहर चल्ने चेतावनी दिएको छ। वर्षा नहुँदा पश्चिममा तराई मात्र होइन, पहाडी र उपत्यकाको तापक्रम पनि उच्च छ। बुधबार दिपायलको अधिकतम तापक्रम ३९.२, सुर्खेत वीरेन्द्रनगरको ३९.७ र घोराहीको ३९.५ डिसे मापन भएको छ।

हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने छ।

कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ। गत मंगलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो। आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

छिमेकी भारतमा तापक्रम निकै उकालो लागेको छ। भारतको मौसम विज्ञान विभागले वेबसाइटमा उल्लेख गरेअनुसार १० राज्यका ७५ सहरमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ।

बुधबार मात्र भारतको राजधानी दिल्लीको तापक्रम ५२.२ डिसे मापन भएको छ, जुन दिल्लीका लागि अहिलेसम्मकै उच्च तापक्रम हो। त्यहाँ यसअघि सन् २००२ मा ४९.२ डिसे तापक्रम मापन भएको थियो। 

प्रकाशित: May 30, 2024| 09:48 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्