मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैँ अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा नाम थर, ठेगाना नखुलेका एक बालिका र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा २ जना महिला र एक पुरुष घाइते भएका छन्।
मृतक र घाइतेको परिचय खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएका पाँच जनालाई उद्धार गरेर उपचारमा पठाइएकोमा २ जनाको मृत्यु भएको हो। घाइतेको हेटौँडामा उपचार भइरहेको छ। दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।