काठमाडौं- सभामुख देवराज घिमिरेले आज पनि प्रतिपक्षले बेल घेरेको समयमै बैठकका काम कारबाही सञ्चालन गरेका छन्। घिमिरेले अवरोधमै संसद् सञ्चालन गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्सल लगाएर स्कर्टिङमा रोष्ट्रम पुगेका छन्।
उनले रोष्ट्रमबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिदिएकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव राखेका हुन्। उनले प्रस्ताव राखेपछि मार्सलकै सहारामा आफ्नो आशनमा फर्किएका छन्।
राष्ट्र प्रमुखलाई धन्यवाद दिने प्रस्ताव प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षीको नाराबाजीमै सभामुख घिमिरेले निर्णयार्थ प्रस्तुत गरे। सत्ता पक्षका सांसदहरूले ‘हुन्छ’ भने तर, विपक्षीको नाराबाजी चलिरहेका बेला सभामुखले ‘हुन्न’ भन्ने आवाज नसुनिएको बताए। त्यसपछि उनले प्रस्ताव पारित भएको घोषणा गरे।
उनले नीति तथा कार्यक्रममाथिको छलफलका लागि यही जेठ ११ गतेदेखिको समय तोकेका छन्।
बैठक सुरु हुनासाथ बोलेका कांग्रेस सांसद तथा सहमहामन्त्री बद्री पाण्डेले राष्ट्रिय सूचना बेच्ने मान्छे को हो, संसद्मा देखाइदिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए। उनले सहकारी प्रकरण र सोमबार उपप्रधानन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए।
‘को हो त्यो एजेन्ट ? देखाउनुस्। उसलाई गलहत्याउने हो, गलहत्याउन तपाईंलाई सघाउन हामी तयार छौं। होइन भने तपाईंलाई गलहत्याउन नपरोस्,’ उनले भने। पाण्डेले गृहमन्त्रीको अभिव्यक्ति पुष्टि नभए संसद्को रेकर्डबाट हटाउन माग गरे।
देशैभरका सहकारी पीडितका बचत फिर्ताको सुनिश्चितता नभएसम्म आफूहरूको लडाईं विश्राम नपाउने उनले बताए। पाण्डेले सहकारी पीडितलाई आश्वस्त पार्दै भने, ‘हामी हाम्रो अडानमा दृढ छौं।’
साथै, उनले गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै समिति गठन तुरुन्तै हुनुपर्ने बताए। ‘देशैभरका सहकारी पीडितलाई आश्वस्त पार्न चाहन्छु, देशैभरका पीडितको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईंले विश्राम पाउने छैन,’ उनले भने।
त्यस्तै उनले प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिने क्रममा विरोध गरेको भन्दै कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएको प्रति पनि आपत्ति जनाए। ‘संसद्को यो परिस्थितिले कसले कसले मूल्य चुकाउनु पर्ने हामी हेर्दै जानेछौं। म यो चुनौती दिन्छु।’