सोमबार, जेठ २६, २०८२

संसद्लाई ब्यारेकजस्तो बनाएर विश्वासको मत लिइयो: कांग्रेस

 |  सोमबार, जेठ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्लाई ब्यारेकजस्तो बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको आरोप लगाएको छ।

कांग्रेसको विरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिएपछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीलाई विश्वासको मत लिने पर्याप्त समय हुँदाहुँदै विरोधका बीच लिइएको भन्दै आपत्ति जनाए।

कांग्रेसले सदनको मूल्यमान्यता जोगाउन लडिरहने पनि उनले बताए। सरकार संसदीय मूल्यमान्यताको खिलाफमा गएको लेखकले बताए। 'नेपालको संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित छ। आज सभामुखले विपक्षीलाई बोल्न दिनुभएन। बहुमतको, सत्ता पक्षको दम्भ देखियो। सत्तापक्ष असहिष्णु भयो र संसदीय मूल्यमन्त्यताको खिलाफमा उभियो। हामी सरकारलाई लोकतन्त्रका मूल्यमान्यता विपरीत नजान चेतावनी दिन्छौं,' उनले भने।

कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन्।

सोमबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीच विश्वासको मत पाएका हुन्। मतदानमा १५८ जना सांसद सहभागी भएकोमा एक जना तटस्थ बसे भने विपक्षमा शून्य मत पर्‍यो।

National life insurance

प्रधानमन्त्री दाहाललाई १५७ सांसदले मत दिएका छन्। दाहाललाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका छन्।

नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू मतदान प्रक्रियामा सहभागी भएनन्। नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए।

सभामुखले बैठक सुरु भएको जानकारी दिनेबित्तिकै कांग्रेस सांसदहरुले आफ्नो आशनबाट उठेर विरोध गरेका थिए। संसदीय मान्यता अनुसार एक जना सांसद उठे पनि बैठक अघि बढाउन मिल्दैन। तर सभामुख घिमिरेले दर्जनौं सांसदको नाराबाजीबीच बैठक सञ्चालन गरे। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सकिएसँग बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजेसम्म स्थगित भएको छ।

प्रकाशित: May 20, 2024| 14:56 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्