काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने ‘बटमलाइन’ कायमै राखेको छ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले समेत सहकारी प्रकरणमा लामिछाने संलग्न रहेको पुष्टि हुँदै गएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान दोहोर्याएको छ।
'बचत हिनामिना र ठगी भएको छ। ठगी गर्ने काममा माननीय गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रस्ट भएको छ,' बैठकपछि कांग्रेस सचेतक रमेश लेखकले भने, आजको बैठकले सहकारीको ठगीमा संलग्न रवि लामिछाने र सम्बन्धितलाई कडा कारबाही गर्न संसदीय छानबिन समिति गठनको पूर्ववर्ती निर्णयमा दृढ छौं।'
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने आजको संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर पत्रकारहरूले सोधेको प्रश्नमा लेखकले सहज ढंगले विश्वासको मत लिने भए संसदीय छानबिन समिति बनाएर आउन अनुरोध गरे।
आइतबारको प्रतिनिधि सभामा बैठकमा गृहमन्त्री असभ्य रूपमा प्रस्तुत भएको निष्कर्ष कांग्रेसले निकालेको छ। हिजोको संसद् बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको लेखकले बताए।
लेखकले गृहमन्त्रीले प्रश्न सोध्ने नभएर आफूमाथिका प्रश्नको जवाफ दिनुपर्ने बताए। त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले जानकारी दिए। रविले कांग्रेसबारे उठाएका विषयमा छानबिन गरेर पुष्टि गर्न उनले चुनौती दिए।