नवलपुर (नवलपरासी)- नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्।
उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उनले प्रतिबद्धताअनुसार काम भइरहेको बताए। “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन्। बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्ने छु”, उनले भने।
नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उनको भनाइ थियो।
डा कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए। “नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रुपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ। अहिले कूल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ। अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पालामा नवलपुरलाई आर्थिक राजधानी बनाउनेगरी कामको सुरुआत गरेको भए पनि त्यसले निरन्तरता पाउन नसकेको बताए। उनले आफ्नो पालामा नवलपुरको देवचुलीमा औद्योगिक क्षेत्र बनाउने भनेर काम अघि बढाएको भए पनि अहिले सो योजना अलपत्र अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गरे। निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गरी सम्भावनाका क्षेत्रमा योजनाबद्ध विकास गरिनुपर्ने उनको भनाइ थियो।
साधारणसभा उद्घाटनका क्रममा उद्योगी व्यवसायीले युवाहरू विदेश जाने क्रम बढ्दा नेपालको सम्भावनाका ढोका खुल्न नसकेका बताएका थिए। नेपालको शिक्षा पद्धतिका कारण युवा विदेशिने क्रम बढेको भन्दै उनहरूले त्यसलाई रोक्नतर्फ सरकारले पहल गर्नुपर्नेमा जोड दिएका थिए। सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सकेको अवस्थामा देशमा उद्यमशीलता वृद्धि हुने उद्योगीहरूको भनाइ थियो।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अध्यक्ष एवम् प्रदेश उद्योग वाणिज्य सङ्घ गण्डकीका अध्यक्ष अमृत भट्टचनले देशकै केन्द्र भागमा रहेको गैँडाकोटको विकासका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए। उनले निजी जग्गाको उच्च मूल्यवृद्धि हुँदा समस्या भइरहेकाले सरकारी जग्गालाई सहुलियत दरमा भाडामा लिने व्यवस्था गरे स्वदेशी र विदेशी लगानी बढ्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए। ठूलो धनराशि खर्च गरेर सरकारले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेकाले सरकारलाई यसतर्फ ध्यान दिन उनले आग्रह गरे।
सङ्घको पाँचौँ साधारणसभा, तेस्रो अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नेगरी काम भइरहेको सङ्घका महासचिव छवि कँडेलले जानकारी दिए।