आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा

संसद् गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा

 |  शनिबार, जेठ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताएका छन्। 

शनिबार कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा उनले देशभित्र राजनीतिक संकटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए।

देशभित्र आर्थिक संकट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उनले आग्रह गरे। उनले भने, 'देशमा राजनीतिक संकट छैन। राजनीतिक संकट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ। ती संकटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौँ। काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ,' जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रुपान्तरण नै हो। त्यसका लागि हामी एकमत हुन आवश्यक छ।'

पुस्तकको विमोचन गर्दै उनले विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको उल्लेख गरे। राजनीतिक व्यक्तित्वलाई लेखन र साहित्यको अभ्यासले सरल मान्छे बन्न सहयोग गर्ने धारणा राख्दै महामन्त्री शर्माले राजनीतिक व्यक्तिले अध्ययनशील बन्न र लेखन अभ्यास गर्न जोड दिनुपर्ने बताए।

लेखक पौडेलको आफ्ने दोस्रो कृतिका रूपमा रहेको यस सङ्ग्रहमा २१ कथा समेटिएका छन्। कथाहरूमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरिएको उनको भनाइ छ।
 

प्रकाशित: May 18, 2024| 19:00 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्