शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलले ल्यायो 'सधैं अन' योजना, डाटा सकिए पनि पैसा नकाटिने

एनसेलले ल्यायो 'सधैं अन' योजना, डाटा सकिए पनि पैसा नकाटिने

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- एनसेलले ‘सधैं अन’ योजना सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी कम्पनीले योजना सार्वजनिक गरेको हो।

National life

कार्यक्रममा एनसेलका सीईओ जाब्बोर कायुमोभले अहिले नेपालको दूरसञ्चार क्षेत्रले खासै राम्रो नगरिरहेको बताए। उनले सन् २०१७ देखि २०२३ को बीचमा नेपालको दूरसञ्चार क्षेत्रको विकास २५ प्रतिशत घटेको र बंगलादेशमा ४८ र श्रीलंकामा ३६ प्रतिशतले बढेको जानकारी दिए।

सधैं अन एउटा योजना मात्रै नभएर उज्यालो भविष्यतर्फको कदम भएको उनले दाबी गरे। धेरै नेपालीले डाटा अफ गर्ने गरेको र विदेशको तुलनामा कम जीबी  डाटा खपत गर्ने गरेको जानकारी उनले दिए। त्यसैले यो विषय समाधान गर्न खोजिएको सीईओ कायोमुभले बताए। नेपालमा १० मध्ये दुई प्रयोगकर्ताले मात्रै नियमित रूपमा डाटा प्रयोग गर्ने गरेको उनले जानकारी दिए।

के हो ‘सधैं अन’ योजना ?
यो प्रयोगकर्ताले सधैं मोबाइल डाटा अन राख्न सक्ने योजना हो। यसका लागि कम्पनीले सहज डाटा प्याकहरू ल्याएको छ। ८१२३३ डायल गरी यो डाटा लिन सकिन्छ। एसएमएससहितको यी डाटा प्याक सकेपछि फोनमा भएको बाँकी पैसा नकाटिने कम्पनीले बताएको छ।

यो योजनाअन्तर्गत प्रयोगकर्ताले आवश्यकता र बजेट अनुसार डाटा प्याक खरिद गर्न सक्छन्। २८ दिनका लागि यस्ता प्याकेज ९८/९९ रुपैयाँदेखि १४९९ रुपैयाँसम्म उपलब्ध छन्। यसमा आठ वटा मासिक २८ दिनका लागि प्लान छन्। योजनामा डाटासँगै नेपालभित्र कल गर्न सकिने भ्वाइस प्याक, एसएमएससमेत उपलब्ध हुने छ।

Laxmi sunrise bank
kumari

डाटा, एसएमएस वा कल प्याक नसकेरै महिना काटेमा अर्को महिना नवीकरण हुँदा त्यसमा थपिने कम्पनीले जनाएको छ। यस्ता प्याक आफैं मासिक रूपमा नवीकरण हुने कम्पनीले बताएको छ।

एनसेलको ब्रान्ड तथा मार्केटिङ म्यानेजर अनुसा प्रधानांगले  यो योजनाले प्रयोगकर्तालाई पैसा काट्ने दरले डाटा अफ गर्न आत्तिनुपर्ने झन्झट मुक्त हुने बताइन्। डाटा सकेपछि थाहा हुँदैन र मुख्य पैसा काट्न थाल्छ त्यसैले ग्राहकले डाटा अफ गर्ने गरेको कम्पनीको भनाइ छ।

यो योजना अहिले प्रिपेड ग्राहकका लागि मात्रै उपलब्ध रहेको छ। पोष्टपेड ग्राहकका लागि केही समयपछि यस्तो योजना ल्याउने कम्पनीको भनाइ छ। योजनाअन्तर्गत जति रुपैयाँको प्याकेज हो त्यति नै वटा म्यासेज निःशुल्क मिल्ने कम्पनीले बताएको छ। ७९९, ९९९ र १४९९ रुपैयाँका प्याकेजमा अनलिमिटेड भ्वाइस प्याक रहेको छ। यो ग्राहकको खरिद क्षमतालाई ध्यानमा राख्दै बनाएको चिफ कमर्सियल अफिसर उमैरले बताए।

प्रकाशित: May 15, 2024| 14:13 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्