आइतबार, जेठ २५, २०८२

सतिघाटमा पक्की पुल नहुँदा सधैंको सास्ती

 |  मंगलबार, वैशाख २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

vianetvianet

भोजपुर- उत्तरी क्षेत्रबाट भोजपुर-सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ।

नदी तर्नको लागि फेरी सञ्चालनमा रहेपनि करिब ६ महिनामात्र सञ्चालन हुने भएकाले स्थानीयलाई सास्ती भएको हो।

वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिदेखि फेरी सञ्चालन गरिएको छ। तर विभिन्न प्राविधिक समस्या, हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने भएकाले स्थानीयलाई समस्या हुने गरेको छ।

अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले बर्षौँदेखि समस्या भोग्दै आएका छन्।

सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयवासी हरि भित्रिकोटीले बताए। 'अरुण नदीमा पुल नहुँदा सिंगो उत्तरी क्षेत्रका नागरिकले वर्षौँदेखि कष्टकर जीवन बिताउँदै आएका छन्', उनले भने,'वर्षौँसम्म पनि पुल नबनेपछि फेरी सञ्चालनमा छ। यसले केही राहत त मिलेको छ। तर करिब छ महिना मात्र सञ्चालन हुने भएकाले दिगो रुपमा समस्या समाधानको लागि हामीले पक्की पुलको माग गरिरहेका छौँ।'

National life insurance

पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द हुने भएकाले झोलुंगे पुलबाट नै आवतजावतसँगै पिठ्यूँमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको स्थानीयवासी दीपेन्द्र श्रेष्ठले बताए।

'सतिघाटमा पुल बन्छ भन्ने आशामा वर्षौँ बित्यो', उनले भने, 'फेरी सञ्चालनमा छ। तर यो पनि सबै समयमा चल्दैन। हिउँदको समयमा मात्र चल्ने भएकोले हामीलाई धेरै समस्या छ। फेरी बन्द हुनेबित्तिकै कष्टकर जीवन सुरु भइहाल्छ। यहाँ राज्यले पक्की पुल निर्माणमा ध्यान दिन आवश्यक छ।'

यहाँ २०७६ सालदेखि फेरी सञ्चालनमा आएको हो। विभिन्न प्राविधिक समस्याका कारण यो पनि बेलाबेलामा बन्द हुने गरेको छ। त्योसँगै पानीको बहाव बढेपछि भने फेरी पूर्णरुपमा बन्द नै हुन्छ। नियमित रुपमा भने करिब आठ महिनामात्र फेरी सञ्चालन हुने गरेको स्थानीयको भनाइ छ।

हिउँदको समयमा नदी पार गराउन बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म फेरी सञ्चालन हुन्छ। यसले केही सहजता भए पनि पक्की पुल नहुँदा धेरै समस्या रहेको नगरपालिका उपप्रमुख प्रमिला राईको भनाइ छ। पुल निर्माणको लागि सबै निकायको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ।

हाल फेरीको सहायताबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक बाह्य जिल्ला आवतजावत गर्दै आएका छन्। तत्कालीन रुपमा यसले केही सहजता भए पनि दिगो समस्या समाधानको उपाय नरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। यहाँ पक्की पुल निर्माणको लागि पहलकदमी गरिरहेको प्रमुख उदासको भनाइ छ।

'सतिघाटमा पुल निर्माणको लागि हामीले पहलकदमी गरिरहेका छौँ', प्रमुख उदासले भने, 'यसअघि दुई पटक बोलपत्र आह्वान भयो। तर कसैको पनि बोलपत्र परेन। यो पटक भने बोलपत्र आह्वान भएर ठेक्का परेको अवस्था छ। तर राज्यले स्रोत सुनिश्चितता गरेको छैन। स्रोत सुनिश्चित गरिदिन संघीय सरकारलाई हामीले ध्यानाकर्षणसमेत गराएका छौँ।'

धेरै नागरिकको जनजीवनसँग जोडिएको सतिघाटमा पक्की पुल निर्माणको खाँचो रहेको कोशी प्रदेशसभा सदस्य विनोद बान्तावाले बताए। यहाँ पुल निर्माणको लागि राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ। पुल निर्माणको लागि आफ्नो तहबाट ध्यानकर्षण गराइरहेको उनको भनाइ छ।

'तत्कालीन समस्या समाधानमा फेरीले केही राहत मिलेपनि दीर्घकालीन समस्याको समाधान भने होइन', सांसद बान्तावाले  भने, 'पानीको बहाव बढेसँगै फेरी बन्द हुँदा नागरिकले समस्या नै भोग्नुपर्ने बाध्यात्मक अवस्था छ। त्यसैले यहाँ पक्की पुल निर्माणमा राज्य गम्भीर बन्न आवश्यक छ। मैले पनि यो विषयमा राज्यलाई ध्यानाकर्षण गराउँदै आएको छु।' रासस 

प्रकाशित: May 07, 2024| 21:01 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बाढीको डरले घर छाड्दै

बाढीको डरले घर छाड्दै

तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।