सोमबार, भदौ ८, २०८३

कफीखेतीमा प्रोत्साहित गर्न सन्धिखर्कमा किसानलाई तालिम

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

अर्घाखाँची- सन्धिखर्क नगरपालिका-१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी तालिम दिइएको छ।

व्यावसायिक रूपमा कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्यहारसुसार तथा गर्नुपर्ने सबै प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारीसहित प्रशिक्षण दिइएको हो।

अन्नबाली लगाउँदा बाँदर तथा जंगली जन्तुबाट बचाउन निकै गाह्रो भएको र पर्याप्त सिँचाइ सुविधा नहुँदा अन्य खेती गर्न गाह्रो भएको समयमा कफीखेती राम्रो विकल्प भएको तालिममा भाग लिएका किसान बताउँछन्।

तालिममा सहभागी प्रत्येक किसानले दुईदेखि छ रोपनी जग्गामा दुई सयदेखि छ सय कफीका बिरुवा लगाउने कार्यक्रम रहेको कफी प्रवर्द्धन कार्यक्रम समन्वय समिति सन्धिखर्क-१० का अध्यक्ष धर्मराज भुसालले बताए।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाको संघीय सशर्त अनुदानतर्फको २० लाख रूपैयाँको कार्यक्रम पनि छ।

कार्यक्रमअन्तर्गत कफीखेतीका लागि खाडल खन्ने, प्रांगारिक मल खरिद, सिँचाइका लागि पानीट्यांकी निर्माण गर्ने तालिम तथा भ्रमणको कार्यक्रम राखिएको सन्धिखर्क-१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले बताए।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाका प्रमुख राजेन्द्र भट्टराई र फरवार्ड नेपालका ‘फिल्ड अफिसर’ नोमराज पौडेलले कफीखेतीसम्बन्धी प्रशिक्षण दिएका थिए। 

प्रकाशित: May 07, 2024| 21:31 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्