शुक्रबार, पुस ११, २०८२

पानीको जोहो गर्नै बित्छ दिन, मुहान सुकेपछि ट्यांकरको भर

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

पाँचथर- सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७ का तीन सय बढी घरमा ट्यांकरबाट पानीको प्रबन्ध भएको छ।

National life

हिलिहाङ-७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्यांकरबाट खानेपानीको व्यवस्था गरिएको हो। 

ट्यांकरमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी जम्मा गरी सल्लेरीमा रहेको पाइप लाइनबाट साँचेखोला खानेपानी आयोजनाको ट्यांकीमा संकलन गरिएको छ। यहाँ निर्माण गरिएका २०  र ६० हजार लिटर क्षमताका दुईवटा ट्यांकीमा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको साँचेखोला खानेपानी आयोजनाका अध्यक्ष तिलविक्रम इधिङ्गोले बताए। 

'मुहान सुकेपछि उपभोक्ता मिलेर वडा कार्यालय, हिलिहाङ गाउँपालिकालगायत निकायमा जानकारी दियौँ', खानेपानी वितरणको अगुवाइ गरिरहेका अध्यक्ष इधिङ्गोले भने, 'पानीको हाहाकार हुन थालेपछि स्थानीयवासीकै सक्रियतामा खानेपानी ल्याउन थालेका हौँ।' यहाँ बैशाख १५ देखि ट्यांकरको सहायताले निरन्तर खानेपानी वितरण भइरहेको इधिङ्गोले बताए।
 
तीन सयभन्दा बढी उपभोक्तामध्ये ४५ घरका उपभोक्ताले  तीनधारे मुहानबाट दुई घण्टा पानी बोकेर लैजाने गरेका छन्। स्थानीय कौशिला बराइली पानीको जोहो गर्न दैनिक एक घण्टाभन्दा समय खर्चनु परेको बाध्याता सुनाउँछिन्। 

स्थानीयवासीले ट्यांकरबाट खानेपानीको प्रबन्ध गर्न थालेपछि फिदिम नगरपालिका, फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, हिलिहाङ-७ वडा कार्यालय, एपेक्स निर्माण कम्पनी, इन्द्र योक्पाङ्देनलगायत स्थानीयवासीलाई सहयोग गर्दै आएका छन्। 

Laxmi sunrise bank
kumari

खानेपानीको समस्या भोगिरहेका हिलिहाङ गाउँपालिकाका सातवटै वडाका लागि बृहत् सुभाङ खानेपानी आयोजना निर्माण भइरहेको छ। हिलिहाङ-७ को साविक भारपा गाविसका लागि उक्त बृहत् आयोजनाअन्तर्गत नै साँचेखोला ‘बी’ योजना निर्माण भइरहेको छ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार बृहत् आयोजनाको निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकेको छ। साँचेखोला ‘बी’ उपयोजनाको मुहानभन्दा पाइप लाइनको केही भाग माथि बनेका कारण उक्त उपयोजना तत्कालै सञ्चालन हुन नसक्ने अवस्थामा छैन। 
 
साविक भारपा गाविस वडा नं ६, ७, ८ र ९ का लागि २०५३ सालमा साँचेखोला खानेपानी योजना निर्माण थालिएको थियो। उक्त योजना सशस्त्र द्वन्द्वका कारण प्रभावित भई २०६९ देखि पानी वितरण सुरु भएको थियो। 

पुरानो साँचेखोला योजनाभन्दा करिव दुई सय ५० मिटर तलको मुहानमा बृहत् आयोजनाअन्तर्गत साँचेखोला ‘बी’ निर्माण भएको हो। यद्यपि प्राविधिक, निर्माण कम्पनी र तालुकदार निकायबीच समन्वय नहुँदा उक्त उपयोजनाको ट्रान्समिसन लाइनको केही भाग मुहानभन्दा माथि निर्माण भएपछि एक हजारभन्दा बढी उपभोक्ता पेयजल प्राप्तिको आधारभूत सुविधाबाट वञ्चित भएका छन्। 

प्रकाशित: May 06, 2024| 07:01 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्