आइतबार, जेठ ६, २०८१

४८ वर्षदेखि ठेकी बनाइरहेका टीकाबहादुर

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

बागलुङ- शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुक्क भिजेका कपडा। हातमा काठ र फलामका दुई थान औजार। काठेखोलाको तङ्ग्राम गाउँमा काठका ठेकी बनाउँदै गर्दा भेटिए बागलुङ नगरपालिका-१२ अमलाचौरका ६० वर्षीय टीकाबहादुर चुनारा। हुर्कंदो उमेरमा पनि काम गर्ने जोस जाँगर युवाको जत्तिकै छ उनमा। 

triton college

६ दशक हुँदा पनि चुनारा दैनिकजसो ठेकी बनाउने काममा व्यस्त छन्। बागलुङमा मात्र होइन अन्य जिल्लाका दूरदराजसम्म पुगेर ठेकी बनाउने उनको मुख्य पेसा हो। कामलाई कामलाई पूजा मान्ने टीकाबहादुरले ठेकी बनाउन सुरु गरेको ४८ वर्ष भयो। उनले बाउ, बाजे र काकाहरुबाट १२ वर्षकै उमेरदेखि सीप सिकेर ठेकी बनाउने पेसा अंगालेका थिए।

चुनाराका अनुसार हिजोआज काठका ठेकीको प्रयोग निकै कम हुँदै गएका छन्। ठेकी बनाउनुका साथै यसको प्रयोगका बारेमा नागरिकलाई सचेत बनाउने काम पनि गर्दै आएको उनको भनाइ छ। दशक अगाडि काठका सामग्रीको बढी प्रयोग हुने गरे पनि पछिल्लो समय प्रयोगविहीन हुन थालेको उनले बताए। 

आधुनिक प्रविधिको विकासले मौलिकता हराउँदै गएको चुनाराको भनाइ छ। पहिलाको तुलनामा ठेकीको प्रयोगमा कमी आउन थालेपछि परम्परागत पेसा पनि संकटमा पर्न थालेको उनले बताए। 

बिहान उठेदेखि रातिसम्मै काठ काट्ने, मुडा तास्ने र ठेकीका विभिन्न आकार दिने टीकाबहादुर नयाँ पुस्ताले आयातित भाँडाकुँडालाई प्राथमिकता दिँदा पेसा संकटमा पर्न थालेको भन्दै चिन्तित भए। आयातित धातुका सामग्री अति आवश्यक पर्दा मात्रै प्रयोग गर्नुपर्ने उनले सुझाव दिए। आयातित सामग्रीको प्रयोग गर्न सहज हुने भएकाले आफ्नो सुझाव कसैले नसुन्ने उनको गुनासो छ।

corrent noodles
Metro Mart

तीन दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा फलाम, सिल्टी, तामालगायत धातुका भाँडाकुँडा निकै कम पाइने हुँदा स्थानीयले माटा र काठकै सामग्री बढी प्रयोग गर्ने गरेको चुनाराले स्मरण गरे। पछिल्लो समय घरै पिच्छे धातुका सामग्री आउन थालेपछि काठका सामग्री बिक्री कम हुँदै गएको उनले बताए। 

गाउँका बारीमा रहेका काठबाट बनाइने काठका ठेकी आयातित भाँडाकुँडा भन्दा स्वास्थ्यका लागि फाइदा हुने भन्दै यसतर्फ कसैको ध्यान नगएको चुनाराको भनाइ छ। समयसँगै परम्परा पनि परिवर्तन हुँदै जाँदा अचेल मानिसहरु गाउँमा नबस्ने तथा गाईभैँसी नपाल्दा ठेकीको पनि प्रयोग निकै कम भएको उनले बताए। 

'हाम्रो पालामा एउटै परिवारले १५/२० वटा भैँसी पाल्ने, दूध, दही र मही ठेकीमा राख्ने चलन थियो। अहिले गाउँमा मानिस बस्न छोडे, गाईभैँसी पनि पाल्दैनन्। उहिलेका बुढापाकाले सिल्टी प्रयोग गर्ने होइन भन्थे, अहिले त्यही बढी प्रयोग गर्छन्', चुनाराले भने, 'सिल्टीमा एकै छिन हात गोट्यो भने कति कालो लाग्छ, त्यस्तो भाँडामा खाँदा बुढापुरानाले धेरै थरीको रोग लाग्छ भन्थे। काठको भाँडाको दूध दही, तामाको भाँडाको पानी, फलामको कुँडेमा तताएको दूध खानु पर्छ भन्थे, अहिले त्यो सबै हरायो।'

पहिले आफ्नो गाउँमा ३०/४० जनाले ठेकी बनाउने गरे पनि अहिले नयाँ पुस्ताले काम नसिक्दा चार जना मात्रै रहेको चुनाराले जानकारी दिए। यो पेसा संरक्षणमा राज्यले पनि चासो नदिएको उनले गुनासो पोखे।

गाउँपालिका/नगरपालिकाले आरन गर्ने, बाख्रा पाल्नेलाई अनुदान दिएर ती पेसामा लाग्नेलाई प्रोत्साहन गरे पनि ठेकी बनाउने सीप भएका र वर्षौँदेखि यहीँ पेसा गर्दै आएकालाई अहिलेसम्म कुनै पनि सम्बोधन नगरेको उनको भनाइ छ। ठेकी बनाउने पेसाबाटै परिवार चलाउँदै आएको भन्दै पछिल्लो समय बिक्री कम हुन थालेपछि जीविकोपार्जनमा समस्या हुन थालेको उनले बताए।

चुनारा अहिले पनि अँधियामा ठेकी बनाउन गाउँगाउँ पुग्छन्। अँधिया प्रथा अहिले पनि कायम रहँदै आएकाले यसलाई निरन्तरता दिएको चुनारले बताए। ४८ वर्षसम्म एउटै पेसा अङ्गालेर छोराहरुको लालनपालन र पढाइलेखाइसम्म गरेको सुनाउँदै अहिले आफ्ना सन्तानले सरकारी क्षेत्रमा काम गरिरहेका उनले बताए। 'मैले कुनै सरकारी कार्यालयमा काम गरेको भए पेन्सन पाउने उमेर भइसकेको छ', उनले भने।   

'मैले १२ वर्षदेखि ठेकी बनाउने पेसा अङ्गालेको हुँ, उतिबेला बा, दाईहरुसँग हिँडियो, उनीहरुबाटै सिकियो, १७ वर्षदेखि आफै कमाउन थाले, अहिलेसम्म गर्दै आएको छु, केही वर्ष भयो व्यापार निकै कम हुँदै गएको छ। ठेकी किन्नेहरुले अहिले प्लास्किट, सिल्टीका भाँडा ल्याउन थाले', चुनाराले भने, 'हातपाखुरा चल्दासम्म यो पेसा धान्ने छु। युवा पुस्ताले सीप नसिक्दा पेसा संकटमा पर्ने चिन्ता छ।' राज्यले पनि ठेकी बनाउने पेसाको संरक्षण गर्न केही आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने उनको भनाइ छ।

सबैभन्दा पहिले काठ र माटोकै भाँडाको आविष्कार भएको भन्दै प्रविधिको विकासले अन्य धातुका भाँडा बन्न थालेको चुनाराले बताए। ठेकीलाई एक मानाको एक हजार दुई सय पर्ने उनले जानकारी दिए। एउटा ठेकीलाई आठ सयदेखि १० हजारसम्म पर्ने उनको भनाइ छ। 

ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न नपर्ने चुनाराले बताए। स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले विशेष योजना बनाएर रैथाने सीप तथा पेसा संरक्षण र प्रवर्द्धनका लागि कदम चाल्नुपर्ने उनको भनाइ छ। रासस

प्रकाशित: May 06, 2024| 06:31 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्