सोमबार, भदौ ८, २०८३

टुँडिखेलमा 'सीप मेला' : १० हजार बढीको आवेदन

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन्। कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन्।

कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ। यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिए। उहाँहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनको भनाइ छ। 

वैशाख २० गतेपछि फाराम भर्नेहरुको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिए। 

‘मेलामा सहभागी हुनका लागि अनलाइनको माध्यमबाट करिब पाँच हजार जनाले फाराम भरेका छन्। विभिन्न वडाहरुबाट करिब तीन हजार दुई सय र टुँडिखेलमा आएर प्रत्यक्ष रुपमा फाराम भर्नेको सङ्ख्या गरी १० हजार बढी छ। अहिले पनि फाराम भर्न रोकिएको छैन’, प्रमुख कोइरालाले भने। 

फाराम भरेका मध्येबाट दुई हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षसम्म तालिम दिइने उनले जानकारी दिए।

कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको कोइरालाले जानकारी दिए। मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको छ।

मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको कामपाले जनाएको छ। मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्‍याउन मद्दत गर्ने कामपाको विश्वास छ। १८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिए। 

अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो। यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुले उक्त स्थानबाटै फाराम भर्न पाउनुपर्छ भनेपछि त्यहाबाट पनि फाराम भरिएको प्रमुख कोइरालाले जानकारी दिए।

प्रकाशित: May 05, 2024| 14:23 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्