मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लगानीको आह्‍वान गर्दै सकियो सम्मेलन, यी हुन् सम्झौता र समझदारी

लगानीको आह्‍वान गर्दै सकियो सम्मेलन, यी हुन् सम्झौता र समझदारी

 |  सोमबार, वैशाख १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन विदेशी र स्वदेशी व्यवसायीलाई लगानीका लागि आह्वान गर्दै सोमबार सकिएको छ। दुई दिने सम्मेलनमा कति रकमबराबर लगानीको प्रतिबद्धता गरियो भन्ने सार्वजनिक भएको छैन। 

triton college

विगतमा लगानी सम्मेलनमा प्रतिबद्धताको रकम र आयोजनाहरुको नामावली सार्वजनिक गर्ने परम्परा थियो। सम्मेलनका क्रममा नेपालका वर्तमान एवं पूर्वप्रधानमन्त्रीहरु, निजी क्षेत्र र विदेशी विभिन्न पाहुनाहरुले धारणा राखेका थिए। लगानी सम्मेलन निर्देशक समितिका सदस्य सचिव तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन नेपाल सफल भएको बताए।

तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त भएको उनको भनाइ छ। ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारलगायतका क्षेत्रका प्राथमिकता एवं सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक आकर्षक लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्न सफल भएका भट्टले बताए।

lagani-sammelan-1714287969.png
सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढीको सहभागिता थियो। सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएका थिए। आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैरऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान दिइएको छ। सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरुसँग प्रत्यक्ष छलफल गरेका थिए। यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छुट्टाछुट्टै भेटघाट र छलफल गरेका थिए।

विश्व बैंक समूह, चीन, भारत, कुवेत, यूएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसर खोज्न चासो व्यक्त गरेका छन्। नेपालको दिगो विकासको पहललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौताहरु भएका छन्।

corrent noodles
Metro Mart

सम्मेलनको दोस्रो दिन समापन सत्रका अतिरिक्त सार्वजनिक–निजी साझेदारीसम्बन्धी मूल सत्रका साथै विभिन्न तीन चरणमा १० समानान्तर सत्रहरू सम्पन्न भएका थिए। सम्मेलनस्थलमा सरकारी निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, दातृ निकायका २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका थिए। 

९ अर्ब १३ करोड लगानी स्वीकृत
उद्योग विभागले लगानी सम्मेलनमा ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ। विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि यो लगानी स्वीकृत गरिएको हो।

भक्तपुरमा लगानी कम्पनी स्थापना गर्न ६ अर्ब र काठमाडौंमा व्यावसायिक भवन बनाउन ३ अर्ब लगानी स्वीकृत भएको हो। संयुक्त अधिराज्यको एकेलस इनर्जीको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी पनि स्वीकृत भएको विभागले जनाएको छ। यसैगरी ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख लगानी स्वीकृत भएको छ।

तीन अर्ब लगानीमा ईभी गाडी उत्पादन हुने
चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ। 

कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा प्रतिवर्ष ५ हजार वटा गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो। कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाएको छ। कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीका अनुसार यही वर्षबाट गाडी उत्पादन सुरू गर्ने योजना छ।

यसको प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको उनले जानकारी दिए। कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्ने उनले बताए। 

lagani-1714404106.jpg
रारामा होटल
तेस्रो लगानी सम्मेलनको अवसर पारेर राराताल क्षेत्रमा होटल निर्माण गर्ने गरी अष्ट्रेलियन लगानी भित्रिएको छ। रारामा लक्जरी रिसोर्ट बनाउनका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो। लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरे। सम्झौताअनुसार मुगुको छायानाथ रारा नगरपालिका मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा ७० करोड रूपैयाँ लगानी हुनेछ। एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ। यस सम्झौतासँगै यसले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको हो।

रेमिट हाइड्रो अवधारणा 
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अगुवाइमा रेमिटेन्सबाट आउने रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रोको अवधारणा अघि सारिएको छ। रेमिटेन्सको रकम नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोग गर्ने सम्भावनाको खोजी गर्ने उद्देश्यसहित हाइड्रोइलेक्ट्रिसिटी र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरूबीच समझदारीपत्रमा हस्ताक्षार भएको हो।

यसअनुसार दुई आयोजना निर्माणको चरणमा जानेछन्। यी आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइने छ। यो अवधारणाअनुरूप अघि बढाएका ताप्लेजुङको ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको धुन्सा खोला जलविद्युत आयोजना हो। सम्झौताको मुख्य उद्देश्य नेपालको जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकासको लागि आयोजनाको ऋण तथा सेयर लगानीमा रेमिटेन्स रकमको उपयोग गर्ने रहेको छ।

पीपीपी प्रवर्द्धनका लागि समझदारी
लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एण्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स (नाप) बीच समझदारी भएको छ। समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे।

उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उल्लेख छ। नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठी आयोजना गर्न तथा संयुक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन्।

सहकार्यले नेपालमा पीपीपी सम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पीपीपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष उपाध्यायले बताए। वापका अध्यक्ष जियाद–अलेक्जेण्डर हायकले पीपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पीपीले रूपान्तरण ल्याएको उल्लेख गर्दै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताए।

चिनियाँ कम्पनीबाट भित्र्याउन सहजीकरणका लागि समझदारी
चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ।

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो।

नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ। यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी थिए। 

नेपाल चेम्बर अफ कमर्श र क्रोएसियाको निजी क्षेत्रबीच समझदारी
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ। काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुवै संस्थाबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समझदारी भएको चेम्बरले जनाएको छ।

सम्मेलनमा चेम्बरले जलविद्युत, होटललगायत क्षेत्रका एक दर्जन योजना ‘सो–केस’मा राखेको थियो। सो अवसरमा चेम्बर अफ कमर्श र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटोलगायत विषयमा छलफल भएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए। 

नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एशोशिएसनबीच सम्झौता
नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

तेस्रो लगानी सम्मेलनका क्रममा उक्त सम्झौता भएको हो। सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे। नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवद्र्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको महासङ्घका महासचिव खिमनारायण पराजुलीले जानकारी दिए। नेपाल उद्योग व्यापार महासंघले सोमबार नै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ। 

लगानीकर्तालाई खुला हृदयले स्वागत गर्छौं: ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानी सम्मेलनको समापन समारोहमा बोल्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताएका छन्। उनले विकासका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने बताए। 

ओलीले विदेशी लगानीकर्ताका लागि नेपालमा अनुकूल वातावरण बनाइएको भन्दै लगानीको सुरक्षाका लागि प्रतिबद्धता पनि जनाए। ‘सबै राजनीतिक दलहरुले विदेशी लगानीको सुरक्षाका लागि ग्यारेन्टी दिन चाहन्छौं,’ ओलीले भने, ‘अहिले विदेशी लगानीमा निर्माणाधिन आयोजनाहरुमा पनि सरकारले पूर्ण सुरक्षा दिएको छ।’ 

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित छौं: पुन
अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन २०२४ सफल भएको बताएका छन्। सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा  उनले सम्मेलन सफल भएको बताएका हुन्। 

उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे। विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उपस्थितिले सम्मेलन सफल भएको उनको भनाइ थियो। बैठकमा उनले विकास साझेदारहरुसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने प्रतिबद्धता जनाए। ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ’, मन्त्री पुनले भने, ‘नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रशस्त अवसर छन् भन्ने तथ्यलाई स्थापित गर्न सफल भएका छौं।’ 

मन्त्री पुनले प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको बताए। यस्तै विकास साझेदारहरुले चासो राख्दै आएको मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढेको जानकारी उनले गराए। 

मन्त्री पुनले सरकार नीतिगत सुधार र स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आउने समस्या समाधान गरी लगानी अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश दिन विदेशी लगानीकर्तालाई आग्रह गरे। मन्त्री पुनले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र पूर्वाधारका परियोजनाहरूमा प्रचुर सम्भावना रहेको औंल्याए। नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि नजिकै आइसकेको उल्लेख गर्दै उनले त्यसका लागि विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए। 

। उनले नेपाल दुई ठूला उदीयमान अर्थतन्त्र भएका चीन र भारतको बीचमा रहेका कारण स्वदेशी तथा विदेशी लगानीका लागि ठूलो अवसर रहेको बताए। नेपालको जैविक विविधता तथा प्राकृतिक श्रोतहरुको प्रचुरताका कारण पनि व्यावसायिक सम्भावना उच्च रहेको मन्त्री पुनको भनाइ थियो। 

बैठकमा विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका थिए। सरकारले हालैमात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानीको वातावरण बनाएको उनीहरुको भनाइ थियो। यस्तै उनीहरुले सत्तारुढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेर प्रशंसा गरे। सम्मेलन उद्घाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेण्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकोतर्फ उनीहरुको संकेत थियो। उनीहरुले कानुनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए। नेपालका दलहरुमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरुको भनाइ थियो। 

लगानी सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सयभन्दा बढी व्यक्तिको सहभागिता थियो। सम्मेलनस्थलमा २३ वटा प्रदर्शनी कक्ष राखिएका थिए। सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान (ईओआई) गरिएको छ। पहिलो दिन उद्घाटन सत्रका साथै अन्य दुई सत्र सम्पन्न भएका थिए। दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन भएका थिए। 
 

प्रकाशित: Apr 29, 2024| 22:06 सोमबार, वैशाख १७, २०८१
प्रतिक्रिया दिनुहोस्