बुधबार, वैशाख १९, २०८१

केन्द्रीय सत्ता परिवर्तनको असर प्रदेशमा

दुई दिनमा चार प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

काठमाडौं- दुई दिनको अवधिमा चार वटा प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन्। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै प्रदेशहरुमा त्यसको असर परेको हो। 

triton college

बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिए भने बुधबार गण्डकी र कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिएका थिए।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे। लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्री चौधरीले प्रदेश सभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त दुरुस्त बनाउन नसकेको बताए। उनले भने “सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन।”   

लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दलहरु सहमत भएका छन्। एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन्। 

corrent noodles
Metro Mart

सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सदस्य चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्यले  महरालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका  भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी गरेका हुन्।

उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। 

उनले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा बुझाएका छन्। शाहले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका थिए। तर विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिएका हुन‍्।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पनि पदबाट राजीनामा दिने घोषण गरेका छन्। प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएका हुन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन्। कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्री  शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए। उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए।

‘सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो’, उनले भने, ‘राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक/पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ।’

उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए। उनले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए।
    
डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनले बताए। ‘कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्’, उनले भने, ‘योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ।’

बुधबार नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक गरेका थिए। नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो।

बहुमतका लागि गण्डकीमा ३१ जना सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री पाण्डेले बिहीबारभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर बहुमत आउने नदेखेपछि पाण्डेले पदबाट राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेस संसदीय दल नेता हुन्। गण्डकीमा कांग्रेस ठूलो दल हो। यहाँ कांग्रेसका २७ सांसद छन्।

नेकपा (एमाले) का २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन्।

प्रकाशित: Apr 04, 2024| 19:04 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्