आइतबार, पुस १३, २०८२

मुहान परिवर्तनपछि रत्नेचौर लिफ्ट खानेपानीको काम सुरु

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

म्याग्दी- मुहान परिवर्तन गरिएको म्याग्दीको बेनी नगरपालिका-१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु भएको छ।

National life

कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुईसय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब तीन करोड रूपैयाँको लागतमा चार वर्षअघि सुरु भएको आयोजनाको इनार निर्माणस्थलमा ढुंगा र मागअनुसार पानीको स्रोत नभेटिएपछि एक वर्षदेखि काम रोकिएको थियो।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलक मोहन ओझाले नयाँ ठाउँमा मुहान बनाउने नक्सा परिवर्तन र भेरियसन अर्डर स्वीकृत भएपछि ठेकेदारले निर्माण सुरु गरेको जानकारी दिए।

'डिजाइन (नक्सांकन) अनुसार सीमस्थित कालीगण्डकी किनारमा इनार खन्ने क्रममा ढुंगा भेटिएको र मागअनुसार पानीको स्रोत नभएपछि रत्नेचौर लिफट् खानेपानी आयोजना रुग्ण बनेको थियो', उनले भने, 'सिमभन्दा करिब पाँच सय मिटरमाथि लामगरास्थित कालीगण्डकी किनारमा नयाँ मुहान बनाउने नक्शा र लागत स्वीकृत भएपछि इनार खन्ने र आयोजनाको अन्य संरचना निर्माणले तीव्रता पाएको छ।'

गत फागुन अन्तिम साता गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गणेशराज बस्तीसहितको टोलीले आयोजना निर्माणस्थलको स्थलगत निरीक्षण गरेपछि नयाँ डिजाइन र लागत स्वीकृत भएको थियो। त्यसपछि ठेकेदारले काम सुरु गरेका बेनी नगरपालिका-१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले बताए।

Laxmi sunrise bank
kumari

सीमास्थित कालीगण्डकी बगरको सतहदेखि तीन मिटर गहिरो इनार खन्ने क्रममा ढुंगा भेटिएपछि वैकल्पिक ठाउँमा मुहान पहिचान गरेर इनार खन्ने काम अन्तिम चरणमा पुगेको छ।  कुल रु छ करोड ७६ लाख लागत अनुमान गरिएको योजनाको मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र वितरण ट्यांकीलगायत संरचना निर्माण गर्न प्राकृतिक-प्रदीप-जुम्ली जेभीबीच २०७७ असार २४ गते दुई करोड ७५ लाख ३६ हजार ५ सय ६ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका अनुसार २०७९ असार २३ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने योजनाको हालसम्म ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। रत्नेचौरका बासिन्दा ईश्वर बरुवालले धारा निर्माण भएको डेढ वर्षसम्म पनि पानी वितरण नभएको गुनासो गरे।

'श्रमदानवापत प्रतिघर तीन हजार रूपैयाँका दरले नगद पनि बुझाएका छौँ', उनले भने 'खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुपरेको छ।' 

रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ। जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन। आयोजना निर्माणमा भएको ढिलाइले घरघरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीय ओमबहादुर रोकाले बताए।

हालसम्म एउटा रिजर्भ फेरो ट्यांकी निर्माण सकिएको छ। दुई वटा ट्यांकी र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ। मुख्य पाइपलाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ। चालु आर्थिक वर्षभित्र नै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको कार्यालय प्रमुख ओझाले बताए।

तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड चार दशमलव सात लिटर पानी चारसय ५० मिटरमाथि सालघारीमा निर्माण हुने एकसय १५ क्युविक क्षमताको ट्यांकीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गर्ने लक्ष्य रहेको छ। आयोजनाको वितरण लाइनको कुल दुरी १८ दशमलव सात किलोमिटर छ। रासस

प्रकाशित: Apr 04, 2024| 21:01 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्