आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • स्वामित्व हस्तान्तरण नहुँदा २८ करोड खर्चगरी बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन

स्वामित्व हस्तान्तरण नहुँदा २८ करोड खर्चगरी बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिका-३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको हो।

National life

करिब दुई वर्षअघि संघीय सरकारको २८ करोड ८१ लाख रूपैयाँमा निर्माण भएको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक बनाएका छन्। होल्डिङ सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्साकोठा निर्माण गरिएका छन्। एक हजार क्षमताको होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणमा भने अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन।

होल्डिङ सेन्टरको स्वामित्व संघ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म कुनै टुंगो नलागेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले भने, 'छलफल धेरै भएको छ। कसको मातहत जाने भन्ने लिखित आइसकेको छैन', 'संघीय सरकारको लगानीमा बनेको हो। कसलाई हस्तान्तरण गर्ने के सञ्चालन गर्ने हामीलाई केही निर्देशन आइसकेको छैन।'

कैलालीको धनगढी उपमहनगरपालिकाले स्वामित्व लिएर बाल अस्पताल बनाउने प्रस्ताव गरेको भए पनि त्यसको केन्द्र सरकारबाट सहमति नआएको उपमहानगरका स्वास्थ्य शाखाप्रमुख योगेश अवस्थीले बताए। 'हामीले एउटा भवन लिएर बाल अस्पताल सञ्चालन गर्ने भनेर प्रस्ताव पेस गरेका थियौँ। हस्तान्तरणको सहमति आएन', उनले भने।

'सुरुमा प्रदेश सरकारले चलाउने भन्ने कुरा भएको थियो। प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुरा भएको थियो,' सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खड्काले भने, 'स्वामित्व लिनका लागि मन्त्रालयबाट पहल भएको थियो। केन्द्रबाट त्यसको कुनै टुंगो लागेन।'

Laxmi sunrise bank
kumari

विसं २०७८ बैशाखमा निर्माण सुरु भएको होल्डिङ सेन्टर २०७९ साउनमा निर्माण सम्पन्न भएको सूचना अधिकारी जोशीले जानकारी दिए। नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको थियो। हाल नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ। प्रयोगविहीन हुँदा होल्डिङ सेन्टर जीर्ण बन्दै जाने खतरा पनि बढेको छ।

प्रकाशित: Apr 03, 2024| 19:01 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्