सोमबार, पुस १४, २०८२

२५ जना क्षमता भएको संखुवासभा कारागारमा १३४ कैदी

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

सङ्खुवासभा- सङ्खवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा चार गुणा कैदीबन्दी राख्दा समस्या भएको छ। जिल्ला कारागारमा पच्चीस कैदीको क्षमता भएको कारागारमा एक सय ३४ कैदीबन्दी राखिएको छ। कारागारमा एक सय २६ पुरुष र आठ महिला कैदीबन्दी छन्। तीमध्ये १० ज्येष्ठ नागरिक र एक जना आश्रित बालकराख्नुपरेको कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए।

National life

कारागार करिब चार रोपनी क्षेत्रफल फैलिएको छ। बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको जनाइएको छ। क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप गर्ने समेत समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ। कारागारको सुधार तथा क्षमता वृद्धि गर्ने लागि माथिल्लो सरोकारवाला निकायलाई अनुरोध गरे पनि बेवास्ता गरिएको जेलर घिमिरेले बताए।

कारागारमा आपत्कालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ। कारागारमाथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुर्याउन सकिएको छैन। कारागार जाने माथिको साइडमा सानो भिरालो सिँढी (भञ्याङ) ओर्लिए मात्र पुग्न सकिन्छ। आपद विपद पर्दा उद्धारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत छैन।

जिल्ला कारागार खाँदबारीमा २०८० साउन २४ गते सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट कैद भुक्तान गरिरहेका जिल्लाकै मादी नगरपालिका–५ का २१ वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो। कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले घटना भएको ६ महिना बितेपनि राज्यले दिने भनेको राहत वा क्षतिपूर्ति हालसम्म पाउन नसकेका बताइएको छ।

प्रकाशित: Mar 30, 2024| 07:01 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्