आइतबार, वैशाख १६, २०८१

कर्णालीको स्वास्थ्य सूचकमा कति भयो सुधार ?

 |  आइतबार, चैत ११, २०८०

हेमन्त केसी

हेमन्त केसी

आइतबार, चैत ११, २०८०

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।

triton college

आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्ध वार्षिक समीक्षामार्फत सार्वजनिक गरेको प्रमुख स्वास्थ्य सूचकमा यो अवस्था देखिएको हो। मन्त्रालयले सुरक्षित सुत्केरी, बालमृत्युको अवस्था, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र पोषणको अवस्थालगायत समेटी चालु आवसहित तीन आर्थिक वर्षको तथ्यांक सार्वजनिक गरेको हो।
    
कर्णालीमा सबै खालका खोप पूर्णरुपमा प्राप्त गर्ने बालबालिका आर्थिक वर्ष २०७८-७९ मा ८८.६ प्रतिशत थियो। आव २०७९-८० मा घटेर ८३ प्रतिशतमा झरेको छ। चालु आवको पुस मसान्तसम्म ८२ प्रतिशतले खोप प्रयोग गरेका छन्।

त्यस्तै कूल बालबालिकामध्ये कम तौल भएका दुई वर्ष मुनिका बालबालिका आव २०७८-७९ मा ४.१ प्रतिशत थियो। आव २०७९-८० मा ३.६ प्रशित रहेको छ। चालु आवको  पुस मसान्तसम्ममा २.७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ।

नवजात शिशुको मृत्यु सङ्ख्या आव २०७८-७९ मा दुई जना रहेकामा आव २०७९-८० मा शून्यमा झरेको तथ्याङ्क उल्लेख छ। तर चालु आवको पुस मसान्तसम्म छ जना मृत्यु भएको देखिएको छ।

पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु सङ्ख्या आव २०७८-७९ मा १० जना, आव २०७९-८० मा आठ जना र चालु आवको पुस मसान्तसम्म १० जनाको मृत्यु भएको तथ्याङ्कमा  छ।  
    
आव २०७८-७९ मा मातृ मृत्यु सङ्ख्या १७ जना रहेको छ। आव २०७९-८० मा १६ जना छन्। चालु आवको पुससम्ममा छ जना आमाको मृत्यु भएको तथ्याङ्कमा देखिएको छ। परिवार नियोजनको साधनको प्रयोगदर आव २०७८-७९ मा १८.७ प्रतिशत, आव २०७९-८० मा १६.१ र चालु आवको पुस मसान्त सम्ममा १६.१ प्रतिशत रहेको पाइएको छ। चार पटकसम्म नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आर्थिक वर्ष २०७८-७९ मा ७२.३ रहेको थियो भने आव २०७९-८० मा बढेर ९८.३ प्रतिशत पुगेको छ। चालु आवको पुस मसान्तसम्म ८५ प्रतिशत  पुगेको छ।     

corrent noodles
Metro Mart

आठ पटकसम्म गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७८-७९ मा शून्यमा झरेको छ। त्यस्तै आव २०७९-८० मा ३४.६ प्रतिशत छ। चालु आवको पुस मसान्तसम्म ३१.४ प्रतिशत छ। सुत्केरीपश्चात् मापदण्डअनुसार तीन पटक जाँच गराउने आमा आव २०७८-७९ मा ५२.६ प्रतिशत रहेकामा आव २०७९-८० मा बढेर ५७.३ प्रतिशत पुगेको छ। चालु आवको पुस मसान्तसम्म ६८.८ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

स्वास्थ्य संस्थामा गई सुत्केरी गराउनेको सङ्ख्या बढेको छ। आव २०७८-७९ मा ६९.८ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएकामा आव २०७९-८० मा ८३.६ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएका छन्। दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको सङ्ख्या आव २०७८-७९ मा ७०.१ रहेकामा २०७९-८० मा ७४.५ रहेको छ। चालु आवको पुस मसान्तसम्म ५३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा जम्मा क्षयरोग बिरामीको सङ्ख्या आ २०७८-७९ मा एक हजार छ सय ५२ जना थिए। आव २०७९-८० मा ८० जना घटेर एक हजार पाँच सय ७२ रहेको छ। चालु आवको पुस मशान्त सम्म छ सय ८५ मात्र क्षयरोगी रहेका छन्। कुष्ठरोगमा बिरामीको सङ्ख्या आव २०७८-७९ मा ६८ रहेकामा आव २०७९-८० मा ७३ र चालु आवको पुस मसान्तसम्म २८ जना छन्।

एचआइभी सङ्क्रमितको सङ्ख्या आव २०७८-७९ मा ७० जना थिए। आव २०७९-८० मा ५६ र चालु आवको मसान्तसम्ममा ४४ जना रहेको तथ्याङ्कमा उल्लेख छ। प्रदेशभरि बहिरङ स्वास्थ्य सेवा लिन आएका बिरामीको सङ्ख्या आव २०७८-७९ मा १०४.५ प्रतिशत, आव २०७९-८० मा ८४.७ प्रतिशत र चालु आवको पुस मसान्त सम्म ५३.४ प्रतिशत रहेको छ। अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या आव २०७८-७९ मा ३.४ प्रतिशत, आव २०७९-८० मा ५.१ र चालु आवको पुस मसान्तसम्ममा ६.२ प्रतिशत रहेको देखिएको छ। प्रदेश सरकारले स्वास्थ्य सूचकमा सुधार ल्याउन भरमग्दुर प्रयास गरेको जनाएको छ।

कर्णाली प्रदेश पूर्ण खोपयुक्त घोषणा कार्यक्रमलाई मुख्य उपलब्धिका रुपमा हेरिएको छ। विद्यालयमा पोषण कार्यक्रम सञ्चालन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। तीन तहका सरकारको सक्रियतासँगै कर्णालीका स्वास्थ्य अवस्था सुधार भएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभयो। भौगोलिक विकटताले गर्दा तोकिएका काम गर्न समय लागेकोसमेत मुख्यमन्त्री शर्माको भनाइ छ। रासस

 

प्रकाशित: Mar 24, 2024| 16:03 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्