आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ४५ वर्षदेखि बदाम बेचिरहेकी शिवमाया भन्छिन् - हातखुट्टा चलुन्जेल काम गर्नुपर्छ

४५ वर्षदेखि बदाम बेचिरहेकी शिवमाया भन्छिन् - हातखुट्टा चलुन्जेल काम गर्नुपर्छ

 |  आइतबार, चैत ११, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

भोजपुर- ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुगेकी भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्ग्छिन्।

National life

बदामको व्यापार गरेर महिनामा १५ देखि २० रुपैयाँ हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन्। पैतालीस वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन्। 

‘आफूले सकेको काम गर्नुपर्छ,’ उनले भनिन्, ‘धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले  अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ। गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु। बदाम बिक्रीबाट महिनामा१५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुन्छ।’ 

जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले भनिन्। किसानले उत्पादन गरेको बदाम प्रतिपाथी तीन सयमा खरिद गर्दै आएको उनले बताइन्। आफूले खरिदपश्चात भुटेर प्रतिकेजी तीन सय ५० मा बिक्री गर्ने उनले जानकारी दिइन्।

‘बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छु, दुई–चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ,’ उनले भनिन्। 

kumari

किसानबाट एक वर्षमा चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताइन्। भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उनले बदाम बेच्दै आएकी छन्।

वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरे। विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव छ। 

‘विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ। स्थानीय सरकारले बदाम खेती प्रवद्र्धन गर्नुपर्छ।’

गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका–६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताए। पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिदै गएको उनले बताए।

‘बदामखेती व्यावसायिक बन्न सकेको छैन,’ उनले भनिन्, ‘व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ। म एक वर्षमा ४५  मुरीसम्म बदाम फलाउँछु। सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ।’ बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भने।   -रासस

प्रकाशित: Mar 24, 2024| 19:01 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्