सोमबार, पुस १४, २०८२

काठमाडौं उपत्यका र पहाडी जिल्लामा होली मनाइँदै

 |  आइतबार, चैत ११, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ११, २०८०

आज फागु पूर्णिमा। काठमाडौं उपत्यकासँगै पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ रङ्गहरूको पर्व होली मनाइँदै छ।  असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

National life

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। यस पर्वको अवसरमा आज काठमाडौंको वसन्तपुरमा भेला भई त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने परम्परा रहेको छ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

Laxmi sunrise bank
kumari

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ। यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्।

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्।

होलीमा कुनैपनि अप्रिय घटना हुन नदिन र सर्वसाधारणलाई सहज रुपले होली पर्व मनाउन विशेष सुरक्षा सतर्कता अपनाइएको छ।

तराईका जिल्लामा भने होली भोलि सोमबार मनाइनेछ।

प्रकाशित: Mar 24, 2024| 06:59 आइतबार, चैत ११, २०८०
प्रतिक्रिया दिनुहोस्