काठमाडौं- आनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ। गुम्बामा उनीहरुले पाउने धार्मिक शिक्षा त छँदै छ, साथमा उनीहरुले भोलि गृहस्थतर्फ फर्कन चाहे भने राम्ररी जीविका गर्न सकून् भन्ने उद्देश्य राखिएको स्कुलकी संस्थापक एवम् गायिका आनी छोइङ डोल्माले जानकारी दिइन्।
उनका अनुसार आर्यतारामा अध्ययनरत आनीहरुले समाजमा अहिले आवश्यक व्यावहारिक ज्ञानका साथमा बौद्ध दर्शन, उपासना आदि पनि सिक्नेछन्। आधुनिक विद्यालय र आर्यतारामा भएको आधारभूत फरक भनेको ती विद्यालयको पाठ्यक्रम र पठनशैली पाश्चात्य शिक्षा प्रणालीबाट प्रभावित छ।
अलिक यन्त्रवत् शैलीमा ‘भोलि गएर धन र प्रतिष्ठा कमाउनका लागि आज पढनुपर्छ’ भन्ने भाव त्यसमा देखिन्छ। हाम्रा पूर्वजको नजरमा भने शिक्षा कमाउने साधन मात्र नभएर सम्पूर्ण जीवनलाई सार्थक बनाउने र आफ्नो मात्र कल्याण नसोची ‘बहुजन हिताय, बहुजन सुखाय’ भन्ने कुराका लागि शिक्षा भन्ने सोच राख्नुपर्नेमा उनको जोड रहेको छ। उनी भन्छिन्, ‘खासमा गुम्बा पनि पुरानो जमानामा हिमाली भेगको शिक्षालय हो, ज्ञान आर्जनको थलो हो।’
विश्व प्रणाली नै आधुनिक शिक्षाका आधारमा चल्न भएकाले त्यो अहिलेका मानिसलाई नभई नहुने भए पनि आफ्नो धर्म, संस्कृति र दर्शनबारे पनि उत्तिकै ज्ञान राख्नुपर्ने भएकाले त्यही सोचअनुसार आर्यतारा स्कुल स्थापना गरिएको उनी बताउँछिन्।
यस विद्यालयमा अन्य विद्यालयमा जस्तै अंग्रेजी गणित, विज्ञान, समाजशास्त्र जस्ताका विषय पढाइ हुन्छ। त्यससँगै जीवनलाई सार्थक बनाउन बौद्ध ज्ञान, दर्शनलाई जीवनमा कसरी लागू गर्ने भन्ने ज्ञान प्रारम्भिक तहदेखि नै सिकाइने गरिएको उनको भनाइ छ।
उनका अनुसार यस विद्यालयमा बौद्ध दर्शनसँगै आधुनिक शिक्षाअनुसार कक्षा आठसम्म सरकारकै पाठ्यक्रमअनुसार पढाउने गरिएको छ। विद्यार्थीहरुलाई फर्पिङको शेषनारायण मन्दिर नजिक रहेको सामुदायिक विद्यालयमा नगरपालिकाले सञ्चालन गर्ने कक्षा आठको परीक्षा दिलाउने गरिन्छ।
औपचारिक शिक्षातर्फ आनीहरुलाई जोड्न कक्षा ९ र १० पढाइ सामुदायिक स्कुलमा भर्ना गरिदिने गरेको उनको भनाइ छ। उनीहरुलाई आधुनिक शिक्षाको एसईईसँग जोड्न थालेको झन्डै एक दशक भइसकेको छ।
आनीहरुलाई विद्यालयमा पढ्न र त्यहाँ घुलमिल हुन कुनै समस्या परेको छैन। मात्रै अरु विद्यार्थी विद्यालय पोसाकमा जाँदा उनीहरु आनीकै पोसाकमा हुन्छन्। विद्यालय शिक्षाको औपचारिक प्रमाणपत्र लिएपछि आनीहरु उच्च शिक्षातर्फ रुचिअनुसार जान्छन्। अधिकांश बनारस विश्वविविद्यालयमा आयुर्वेद र बौद्ध दर्शन पढ्न जाने गरेको उनको भनाइ छ।
उनका अनुसार पाँचजनाले आचार्य तह उत्तीर्ण गरेका छन् र उनीहरुमध्ये कतिपय शास्त्री तहसम्मको अध्ययन गरेर आउने पनि छन्। तीनैमध्ये एकजना सिन्धुपाल्चोककी आनी उगेनले बौद्ध शिक्षा उत्तीर्ण गरेकी छन्। मनाङकी अर्की आनीले आगामी वर्ष वैद्य शिक्षा उत्तीर्ण गर्नेछिन्।
आर्यतारा स्कुलमा भर्ना हुने विद्यार्थीमा धेरैजसो दुर्गम हिमाली क्षेत्रका र विपन्न परिवारका तथा आनी बन्न चाहने भर्ना भएका छन्। उनीहरुको शैक्षिक, धार्मिक र आध्यात्मिक विकासका लागि आर्यतारा स्कुल स्थापना भएको हो।
औपचारिक शिक्षातर्फ कक्षा ५ मात्र उत्तीर्ण आनी छोइङलाई महिला शिक्षाप्रति समर्पित बनाउने काम सामाजिक परिवेशले बनाएको हो। उनी भन्छिन्, ‘छोरीले किन पढनु पर्यो ?’ अथवा ‘छोरीलाई कम पढाए पनि हुन्छ ?’ भन्ने मानिसकता परिवर्तन गर्न नै आफूले स्कुल स्थापना गरेको उनको भनाइ छ।
समाजमा छोराजत्तिकै अघि बढ्न छोरीलाई गाह्रो छ। उनीहरुलाई छोराको तुलनामा कम योग्यता भएका, कम बल भएका र कम बुद्धि भएका प्राणी हुन् भने जस्तो व्यवहार गरिन्छ। राम्रो पढाउन सक्ने अभिभावकले पनि पहिलो प्राथमिकतामा छोरालाई राखेर दोस्रोमा मात्र छोरीलाई राख्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘यसको उदाहरण म आफैँ पनि हुँ।’ तिनै कुराले पनि स्कुल स्थापनाका लागि आफूलाई प्रेरणा दिएको उनको भनाइ छ।
समाजलाई विकासतर्फ डोर्याउन शिक्षालाई सर्वसुलभ र जीवनोपयोगी बनाउनुपर्नेमा उनको जोड छ। ‘त्यो लक्ष्य हासिल गर्न छोरीलाई शिक्षा दिनै पर्छ’ उनी भन्छिन्, ‘घरको कामको बोझ छोरीलाई दिएर छोरालाई पढाइतर्फ अघि बढाउने प्रवृत्तिको अन्त्य नभएसम्म समाज अग्रगतिमा हिँड्न सक्दैन।’
गुम्बाजस्तै गुरुकुल र मदरसा शिक्षालाई मूलधारको शिक्षा प्रणालीसँग जोड्ने सरकारको नीति छ। फर्पिङका विभिन्न गुम्बामा रहेका विद्यालयले दक्षिणकाली नगरपालिकासँग समन्वय पनि गरिरहेका छन्। यस्तो समन्वय कक्षा आठ परीक्षाका लागि गरिएको छ। यसको जिम्मेवारी आर्यतारा स्कुलकी प्राचार्य आनी पेमा रिन्छिनले लिएकी छन्।
यस विद्यालयको उद्देश्य आनीलाई धार्मिक ज्ञानसहित गुम्बा बाहिरको संसारमा प्रचलित विषयवस्तुसँग परिचित गराउने र आफ्ना अरु क्षमता विकास गराउनुरहेको प्राचार्य रिन्छिनले जानकारी दिइन्।
औपचारिक शिक्षासँगै सङ्गीत क्षेत्रतर्फ पनि कसैले अघि बढन सक्लान् भनेर हरेक साताको अन्तिममा विद्यार्थीलाई मादल, सारङ्गी बाजासहित चर्या नृत्य आदिसमेत सिकाउने गरिएको उनको भनाइ छ। बौद्ध धर्मसँगै जोडिएको थान्का चित्रकला सिकाउन अलग्गै विभाग चलाइएको छ।
त्यहीँबाट पढेकी एक जना आनीले बौद्धमा निःशुल्क प्रारम्भिक कक्षा चलाएकी छन्। त्यहाँ एकल र असहाय महिलालाई दिउँसो काम गर्न सहज होस् भनेर उनीहरुका बालबालिका भर्ना गर्ने गरिएको छ। करिब १० वर्षअघि सुरु भएको त्यो विद्यालय सम्भवतः आनीले सञ्चालन गरेको पहिलो प्रिस्कुल हुनसक्छ। थुपै आनीहरुले प्रारिम्भक बाल विकास (इसिडी) को तालिम लिएर त्यसैमा डिप्लोमा गरेका छन्। -रासस