शनिबार, चैत २८, २०८२

कोशीमा आगलागी: तीन महिनामा ४८८ घटना, १२ जनाको मृत्यु

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

झापा- सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ।

National life

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन्। विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेको उनले बताए।

स्थानीय जंगलमा पनि डढेलो लाग्ने गरेको भन्दै प्रउ पोखरेलले पहाडी जिल्लाका वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएमा मानव बस्तीमा समेत आगलागी हुने गरेको बताए।

यही चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका-७ मा आगलागी हुँदा एकै परिवाका तीन बालबालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिस कार्की र सात वर्षीया दिप्तिका कार्की रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए।

'आमाबुवा खेतबारीमा काम गर्न जानुभएको रहेछ', घटनाबारे जानकारी उनले दिँदै भने, 'गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ। उनीहरू भाग्नै सकेनन्।'

kumari

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार जिल्लामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन्। झापाको गौरीगञ्ज गाउँपालिका-१ का ५५ वर्षीय नीलकण्ठ घिमिरेको बुधबार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो। गत पुस १ गते धनकुटा नगरपालिका-५ कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा र काजीनारायण श्रेष्ठको घर, गोठ जलेर ११ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ।

गत फागुन २८ गते मेचीनगर नगरपालिका-१५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेट्स् प्रालिमा भीषण आगलागी हुँदा १५ करोड रूपैयाँको क्षति भएको छ। काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका आठवटा र भारतको एउटा दमकललाई तीन दिन लागेको प्रदेश प्रहरी कार्यालयका प्रउ पोखरेलले जानकारी दिए।

यही चैत २ गते झापाको रतुवामाई वृक्षरोपण आयोजनामा ठूलो डढेलो लागेको थियो। आयोजनाको धरमपुर, केर्खा र झिलझिले नजिक वनमा लागेको आगो निभाउन आयोजनाले चासो नदेखाएको सथानीयवासीको आरोप छ। 

घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन्। बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन्। रासस

प्रकाशित: Mar 21, 2024| 20:01 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्