शनिबार, चैत २८, २०८२

काभ्रेमा मापदण्डविपरीत चल्छन् एम्बुलेन्स

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

काभ्रे- काभ्रेपलाञ्चोकमा मापदण्डविपरीत एक्बुलेन्स सञ्चालन भएको पाइएको छ। सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका-२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन्।

National life

जिल्लास्थित एम्बुलेन्स व्यवस्थापन समितिले स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको पाइएको जनाएको हो। निर्देशिकाले सेवारत एम्बुलेन्समा जीपीएस जडान भएको हुनुपर्ने, तालिमप्राप्त चालक र आकस्मिक चिकित्सकीय प्राविधिक (ईएमटी) रहनुपर्ने व्यवस्था उल्लेख गरेको छ। समितिका अनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा ४४ एम्बुलेन्स सञ्चालनमा छन्।

जिल्लाका सञ्चालित एम्बुलेन्समध्ये धुलिखेल अस्पतालका तीनमा १८ जना ईएमटी रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। चालिस एम्बुलेन्समा ईएमटी नभएको, ३५ वटा एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध नभएको, २८ एम्बुलेन्सका चालकले प्राथमिक उपचार तालिम नलिएको पाइएको छ।

धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जिल्लामा सञ्चालित एम्बुलेन्समा निर्देशिकाअनुसार सुविधा नरहेको बताए। उनका अनुसार एम्बुलेन्स सञ्चालनार्थ धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टर (प्रेषण केन्द्र)अन्तर्गत सञ्चालनमा रहेका छैनन्।

जिल्लामा रहेका एम्बुलेन्समा निर्देशिकाअनुसार तथा भाडादरमा एकरुपता ल्याउन तथ्यांक संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका निमित्त प्रमुख अनिता खनालले बताए। उनका अनुसार विभिन्न संघसंस्था एवं दातृ निकायबाट प्राप्तमध्ये स्थानीय तहद्वारा सञ्चालित एम्बुलेन्स केही बिग्रिएर थन्किएका छन् भने केहीलाई सञ्चालनका लागि प्रशासनिकरूपमा नवीकरण तथा मर्मतको प्रयास भइरहेका छन्।

kumari

समितिको विवरण अनुसार मण्डनदेउपुर नगरपालिकामा रहेका तीनमध्ये रेडक्रसद्वारा सञ्चालित एक एम्बुलेन्स नचलेको र चौँरीदेउराली गाउँपालिकामा आइपुगेको एम्बुलेन्स सञ्चालनमा ल्याउन प्रक्रिया थालिएको जनाइएको छ। 

बनेपा नगरपालिकामा आठ, धुलिखेलमा चार, पाँचखालमा चार, नमोबुद्धमा तीन र पनौतीमा दुई एम्बुलेन्स सञ्चालनमा ल्याइएको थियो। यस्तै खानीखोला गाउँपालिकामा दुई, महाभारतमा एक, भुम्लुमा तीन, बेथानचोकमा दुई, खानीखोलामा दुई, तेमालमा एक, रोशीमा तीन एम्बुलेन्स सञ्चालनमा थिए।

गत पुसमा समितिको बैठकले जीपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिसँग एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने निर्णय गरेको थियो।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा जीपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सहसंयोजक रहनेगरी मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख रहनेगरी चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो। रासस

प्रकाशित: Mar 21, 2024| 19:31 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्