बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • शाखा अधिकृत कार्कीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृत कार्कीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शङ्करापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ। 

आयोगका अनुसार, कार्की विसं २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। आयोगले विसं २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ। सो अवधिमा कार्कीको कूल आम्दानी रू तीन करोड ७७ लाख १३ हजार छ सय ४६ बराबर छ। यस्तै सो अवधिमा शाखा अधिकृत कार्कीले रू छ करोड ९८ लाख ४६ हजार छ सय तीन बराबर खर्च गरेको पाइएको छ। 

आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार आयोगले रू तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ। 

आयोगले शाखा अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिए। 

प्रकाशित: Mar 21, 2024| 14:31 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्