शनिबार, चैत २८, २०८२

मुग्लिन-पोखरा सडक विस्तार: पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने

 |  बुधबार, चैत ७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत ७, २०८०

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन्। राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरु भत्किने भएका आयोजनाले जनाएको छ। तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन्।

National life

प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ।

तनहुँ खण्डका लागि मात्रै ३४ लाख रूपैयाँ मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रेदेखि कास्कीको सेतीपुलसम्मको लगत लिने काम भैरहेको रेना आरडीईटी-एस कन्सल्टटेन्सीका परामर्शदाता कुमार श्रेष्ठले जानकारी दिए।

मन्दिरको मुआब्जाका लागि मूल्यांकन भइसकेकाले सम्बन्धित समुहले वडाको सिफारिस, समुहको माइन्युटर र निवेदनलगायतका आवश्यक कागजपत्र आयोजना समक्ष पेस गर्नुपर्ने छ।

पश्चिम सडकखण्डअन्तर्गत दुई लेनको छ किलोमिटर दुरीमा अस्पाल्ट प्रविधिको कालोपत्र सम्पन्न भएको छ। 'तनहुँ र कास्की खण्डमा गरी उक्त दुरीमा कालोपत्र गरिएको हो', उनले भने, 'पछिल्लो समय निर्माण कम्पनीले निर्माणको गति बढाएपछि अहिले भौतिक प्रगति १८ प्रतिशत पुगेको छ।'

kumari

उक्त सडकखण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरीमा पर्दछ। उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ।

आयोजनाले निर्माण कम्पनीलाई लक्ष्यअनुरुप कामको गति बढाउन निर्देशन दिएपछि निर्माणले गति लिएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले बताए।

पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ। पृथ्वीराजमार्ग सडक विस्तार पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भैरहेको छ।

त्यसैगरी पूर्वी खण्डमा ५१ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ। अहिले सडकको डिजाइन अनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटर सडक विस्तार भैरहेको छ। दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ। राजमार्गको अन्य क्षेत्रमा भने चार लेनको सडक हुनेछ।

आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दुरीमा कालोपत्र गरिएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर बिष्णु पाण्डेले जानकारी दिए। पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो।

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ बैशाखसम्म छ। कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ। रासस

प्रकाशित: Mar 20, 2024| 21:01 बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्