शनिबार, चैत २८, २०८२

आयआर्जनसँग जोड्न विपन्न परिवारलाई बाख्राका पाठी वितरण

 |  मंगलबार, चैत ६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ६, २०८०

ढोरपाटन- बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि धेरै नागरिक गरिबीको रेखामुनि छन्। ज्याला, मजदुरी र निमेक गरेर दैनिकी चलाउनुपर्ने उनीहरुको बाध्यता छ। आयआर्जनको माध्यम केही छैन भने रोजगारको अवसर पनि छैन।

National life

बिहान बेलुका के खाउँ, के लाउँ भन्ने अवस्थाका परिवारलाई काठेखोला गाउँपालिकाले आयआर्जनसँग जोड्न थालेको छ। खास गरी पालिकाभर रहेका दलित समुदायबाट अभियान थालिएको छ। 

दलित समुदायलाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउनका लागि बाख्राका पाठी वितरण गरिएको छ। गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र छोटो समयमा आम्दानी गर्न सकिने हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्राका पाठी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले बताए। 

एउटा बाख्राको पाठी किन्नसमेत नसक्ने परिवारलाई गाउँपालिकाले पाठी उपलब्ध गराएको उनको भनाइ छ। पालिकाका आठवटै वडाका विपन्न परिवार छनोट गरी बाख्राको पाठी दिएको विकले बताए। बाख्राका पाठीबाहेक अन्य आम्दानी गर्न सकिने सामग्री सहयोग गरेको उनी बताउँछन्। यहाँका ८२ दलित समुदायका नागरिकलाई बाख्राका पाठीसँगै कुखुरा, प्लास्टिक टनेल, सिलाइ मेसिन, वेल्डिङ मेसिन, चेन्सो मेसिन, राउटरलगायत सामग्री वितरण गरिएको हो।

चालु आर्थिक वर्षको दलित लक्षित आयआर्जन तथा स्वरोजगार कार्यक्रमअन्तर्गत ३० जनालाई बाख्राका पाठी, १० जनालाई जस्तापाता, १५ जनालाई कुखुराका चल्ला, १० जनालाई टनेल, दुईजनालाई राउटर, परम्परागत पेसा सुधारअन्तर्गत छ जनालाई सिलाइ मेसिन, चार जनालाई वेल्डिङ मेसिन, दुई जनालाई इन्टरलक मेसिन, तीन जनालाई फलाम काट्ने, पङ्खा, सान लगाउने मेसिन र एक जनालाई ड्रिल मेसिन वितरण गरिएको विकले जानकारी दिए।

kumari

प्रवक्ता विकले भने, 'विपन्न परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो चरणमा सानो भए पनि सहयोग गरेका छौँ, उहाँहरुलाई चाहिने न्यूनतम सहयोग निरन्तर हुनेछ, बाख्राको पाठो नै सहयोग गर्नुपर्ने कारण यसले अबको केही महिनामा उत्पादन दिन्छ, त्यसलाई बढाउँदै गएमा आगामी एक वर्षदेखि थोरै भए पनि आम्दानी दिन थाल्नेछ, केही वर्षमै उहाँहरुको जीवनस्तर उकासिने अपेक्षा गरेका छौँ, अन्य सहयोग पनि दिँदै जाने योजना छ।'

गाउँपालिका-३ धम्जा गाउँमा उत्पादन गरिएका स्थानीय जातका बाख्राका पाठी वितरण गरेको हो। प्रतिव्यक्ति १० हजार रूपैयाँ बराबरका बाख्राका पाठी दिइएको छ। बाख्राका पाठी पाएपछि वडा नं ८ की बेलमती विक खुसी छिन्। अहिलेसम्म आफूले अरुको ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आएको भन्दै उनले अब यहीबाट धेरै बाख्रा उत्पादन गर्नेतर्फ लाग्ने बताइन्। आफूले एउटा बाख्राको पाठी किनेर पाल्न नसकेको सुनाउँदै उनले अब पालिकाले दिएको बाख्रालाई व्यावसायिकरुपमा पाल्दै जाने र सङ्ख्या बढाउँदै जाने बताइन्।

'गाउँपालिकाले मेरा लागि निकै ठूलो सहयोग गर्‍यो, गाउँमा बाख्रा पाल्नलाई समस्या छैन, घाँसपात पर्याप्त छ, अहिलेसम्म एउटा बाख्रा पाल्न सकेको थिएन, अब यही बाख्रालाई पाल्दै जाने, सात/आठ महिनामा बच्चा पाउला, सङ्ख्या बढाउँदै जाने योजना बनाएँ', विकले भनिन्, 'बाख्राको सङ्ख्या बढ्दै गयो भने कमाइ राम्रो होला भन्ने लागेको छ।'

प्रकाशित: Mar 19, 2024| 08:00 मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्