शनिबार, चैत २८, २०८२

डढेलो नियन्त्रणका लागि उच्च सावधानी अपनाउँदै निकुञ्ज

 |  मंगलबार, चैत ६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ६, २०८०

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा रहेका मध्यवर्ती सामुदायिक वनमा डढेलोका कारण हुनसक्ने समस्याका लागि निकुञ्जले उच्च सावधानी अपनाएको छ।

National life

निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा अग्निरेखा निर्माण, सरसफाइजस्ता कामलाई तीव्र बनाइएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा डढेलो नियन्त्रणका लागि कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनालगायतको टोलीलाई तयारी अवस्थामा राखिएको छ।

अग्नि नियन्त्रणका आवश्यक सामग्री तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। उनका अनुसार निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा आगलागी हुन नदिनका लागि उपभोक्तालाई सचेतना जगाउने कार्यलाई तीव्र पारिएको छ। उनले भने, 'डढेलोबाट हुने क्षति र यसको प्रभावका विषयमा हामीले जनमानसमा चेतना फैलाउने काम गरिरहेका छौँ।'

सामुदायिक वन क्षेत्रमा डढेलो लागेमा समुदायलाई नै परिचालन गरी डढेलो नियन्त्रण गर्ने योजना बनाइएको छ। डढेलोका कारण संरक्षित वन्यजन्तुलाई पर्ने असरका बारेमा जानकारी गराइएको उनले बताए। तिवारीका अनुसार साना संरक्षित वन्यजन्तुमा धेरै असर पर्ने गरेको छ। यस्तै वनस्पतिमा डढेलोले असर पर्ने भएकाले यसलाई नियन्त्रणसँगै डढेलो नै लाग्न नदिनका लागि निकुञ्जले काम गरिरहेको उनले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्ज नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको छ भने मध्यवर्ती सामुदायिक वन सातसय २९ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना डढेलो नियन्त्रणका लागि समुदायस्तरमा तालिम, सचेतनालगायत कार्यक्रम नियमित सञ्चालन गरिरहेको बताउँछन्।

kumari

उनले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आगलागी भएमा वन, वन्यजन्तुसँग, मानव र मानवबस्तीमा असर पर्ने भएकाले स्थानीय बासिन्दासमेत सचेत रहेको बताए। उनले डढेलो लाग्नै नदिने र लागि हालैमा के गर्ने भन्नेबारेमा आममध्यवर्तीवासीलाई प्रशिक्षित गराइएको जनाउँदै संरक्षणमा सबै जुट्ने बताए।

प्रकाशित: Mar 19, 2024| 07:00 मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्