शनिबार, चैत २८, २०८२

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

National life

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले महरालाई कारबाही सिफारिस गरेको थियो। लगत्तै उपप्रधान गृहमन्त्री रवि लामिछानेले प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न नेपाल प्रहरीको सीआईबीलाई निर्देशन दिएका थिए।

लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई बोलाएर यस्तो निर्देशन दिएका थिए। गत साउन २ मा ब्रेक शु मा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्र विज्ञ जीवन गुरुङसहित मुछिएका थिए। उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्‍मा माग उठेको थियो।

पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाट पुष्टि भइसकेको छ। चिनियाँ तस्कर र उसको समूहसँग महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको छ।

प्रकाशित: Mar 18, 2024| 10:59 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्