शनिबार, चैत २८, २०८२

गुम्बा र विहारमा व्यवसाय नगर्न निर्देशन

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

काठमाडौं- लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ।  कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार  त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ। 

National life

लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको स्मरण गराउँदै विहार क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न अनुरोध कोषले सबै गुम्बा र विहारलाई पत्र पठाएको छ। विहारमा आउने विदेशी तथा उनीहरूको फर्कने मिति उल्लेख गरी सम्पूर्ण विवरण नियमित रूपमा कोषमा प्रस्तुत गर्न आग्रह गरिएको छ। 

साथै कोषले विहार क्षेत्रमा व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न/नगराउन अनुरोध गरिएको छ। व्यावसायिक गतिविधि गरिएको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ। 

लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि जग्गा उपलब्ध गराइएबमोजिम हाल बौद्ध विहार, गुम्बा, ध्यान केन्द्र निर्माण भई सञ्चालनमा रहेको कोषले जनाएको छ। गुम्बा र विहारमा पाँच जना भिक्षु/भिक्षुणी र उनीहरुका सहयोगीको रुपमा थप पाँच जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था रहेको स्मरण गराइएको छ।

लुम्बिनीका विहार र गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा त्यस विपरीत होटललेझै  कोठा तयार गरी पर्यटक राखिएकामा आपत्ति जनाउँदै  लुम्बिनी होटल सङ्घले गत फागुन २९ गते कोषलाई ज्ञापनपत्र बुझाएको थियो।

kumari

प्रकाशित: Mar 18, 2024| 10:46 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्